काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।
उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे । त्यसका लागि सहयोग गर्न आफूहरु तयार रहेको उनीहरुको भनाइ थियो।
भेटका क्रममा स्थानीय सरकार प्रमुखहरुले आफूहरुले भोगिरहेका समस्याका विषयमा पनि प्रधानमन्त्रीसमक्ष अवगत गराए। उनीहरुले आ–आफ्ना समस्या राख्दै यो सरकारले बोल्ड डिसिजन गर्न डराउन नहुने धारणा पनि राखे।
फोहोर व्यवस्थापनको समस्याको गाँठो फुकाइदिन र सडक बत्तीको बक्यौता रकमसम्बन्धी विवाद मिलाइदिन पनि उनीहरुले आग्रह गरे ।
ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफू निर्वाचित भएर आउनुअघिको समेत बक्यौता रहेको जानकारी दिँदै उक्त रकम राफसाफ गरिदिन अनुरोध गरे । त्यस्तै सडक बत्तीको महसुल ६० प्रतिशत स्थानीय सरकारले तिर्न सक्ने र ४० प्रतिशत संघीय सरकारले तिर्ने व्यवस्था गर्नुपर्ने उनको माग थियो।
यस्तै जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीको सम्बोधन गर्दै स्थानीय तहका कार्यालय सञ्चालनमा सहजीकरण गरिदिन पनि उहाँहरुले प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।
प्रधानमन्त्री सुशीला कार्कीले आफू अहिले निर्वाचनमा केन्द्रित रहेको जानकारी दिँदै त्यसमा सहयोग गर्न आग्रह गरिन् ।
निर्वाचन गराउन आएको सरकारले अरु काम गर्नुहुँदैन भनेर पनि प्रश्न उठेकोतर्फ संकेत गर्दै उहाँले भन्दै उनले थपिन्, ‘एकातिर निर्वाचन मात्र गराऊ, अरु काम नगर भन्ने कुरा पनि उठेको छ। अब त चुनावको आचारसंहिता पनि लाग्ला। तैपनि तपाईँहरुले अघि सार्नुभएका समस्यामा केकति गर्न सकिन्छ, हेरौँला। जेजति समस्या छन्, तिनको समाधान तपाईँ-हामी मिलेर नै गर्नुपर्छ।’