हेटौँडा बजारमा डोजर चल्यो, ५३१ घरटहरा तथा संरचना भत्काइने

61

काठमाडौं – लामो समयदेखि रोकिँदै आएको हेटौँडाको सडक बिस्तार शनिवारबाट सुरु भएको छ । शनिवार बिहानैबाट सडक डिभिजन कार्यालय हेटौँडाका डोजरले यहाँकाे मुख्य बजार क्षेत्रका अतिक्रमित घर तथा टहरा भत्काउन थालेका छन्।

स्थानीय प्रशासनको सहयोगमा बाक्लो सुरक्षाकर्मीको उपस्थितिकाबिच सडक डिभिजन कार्यालय हेटौँडाले राजमार्गको दुबैतर्फ २५/२५ गज भित्र परेका अतिक्रमित स्थाई तथा अस्थाई संरचना भत्काउने काम अघि बढाएको हो ।

सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी दुवै तर्फका ५३१ घरटहरा तथा संरचना भत्काइने छन्।

पहिलो चरणमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेदेखि हेटौँडा बुद्ध चौक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथअन्तर्गत बुद्ध चौकदेखि सामरी पुलससम्मको सडक सीमा खाली गरिने प्रमुख अधिकारीले बताए।

डिभिजन कार्यलयका झण्डै ६/७ वटा डोजर र स्काभेटरको प्रयोग गरेर अहिले बुद्धचोकदेखी सिमाचोक क्षेत्रमा रहेका घरहरु भत्काउने काम भइरहेको डिभिजन कार्यालयले जनाएको छ । यससँगै बजारका अन्य ठाउँहरूमा पनि एकैपटक डोजर परिचालन गरी तीन–चार स्थानबाट विस्तार कार्य थालिएको छ ।

१५ दिने अल्टिमेटम सकिएपछि जबर्जस्ती हटाउन थालेको सडक डिभिजन हेटौंडाले गत मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म २५–२५ गज (७५–७५ फिट) सडक सीमा कायम गर्दै संरचना हटाउन १५ दिने अल्टिमेटमसहित सार्वजनिक सूचना जारी गरेको थियो ।

सडक डिभिजनले २०७६ असारमा १ नम्बर वडामा सरकारी निकायले उपयोग गरिरहेको सडक क्षेत्र खाली गराएपछि केही समय सक्रिय भए पनि पछिल्ला वर्षहरूमा मैदानमै उत्रिन सकेको थिएन । त्यतिबेला राप्ती रोडमा स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।

सडक केन्द्रबिन्दुबाट २५–२५ गजभित्र पर्ने संरचना मध्ये दायाँतर्फ २३४ र बायाँतर्फ २९७ संरचना हटाइने डिभिजनका प्रमुख अधिकृत इन्जिनियर गुरुप्रसाद अधिकारीले जानकारी दिए । सडक विस्तारसँगै हेटौंडाको मूल सहर क्षेत्रमा यातायात व्यवस्थापन सहज हुने अपेक्षा गरिए पनि क्षतिपूर्ति र पुनर्वासको विवाद टुङ्गिन बाँकी रहेकाले स्थानीय स्तरमा तनाव अझै कायमै रहेको छ ।

समाचार वर्गहरू