चितवन-१ बाट एमालेका ६ जना सिफारिस हुँदा छुटे सुरेन्द्र पाण्डे

97

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले चितवन- १ ले ६ जनाको नाम सिफारिस गरेको छ ।

६ जनाको नाम सिफारिस गरिँदापनी एमाले निवर्तमान केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डको नाम भने समावेश गरिएको छैन ।

२०७९ सालको निर्वाचनमा प्रत्यासी रहेका पाण्डेले आगामी निर्वाचनमा उम्मेदवार हुने इच्छाका बारेमा कुनै जानकारी नगराएको एमाले चितवनका अध्यक्ष कमलराज पाठकले जानकारी दिए ।

‘पार्टीका नेताहरूसँगको कुराकानीमा नेता पाण्डेले जे राम्रो हुन्छ त्यहीँ गर्नुस्, सबैभन्दा धेरै भोट ल्याउन सक्ने मान्छेलाई उम्मेदबार बनाउनुस् भन्नुभयो, तर आफ्नो इच्छा केही बताउनुभएन, मेरो नाम पनि राख्नुस् भन्नुभएन,’ पाठकले भने, ‘उहाँ आफैंले इच्छा नगरेको र क्षेत्रीय कमिटीलाई पनि उम्मेदवार हुने बारेमा केही भन्नुभएन ।’

त्यस्तै क्षेत्रीय कमिटीका संयोजक प्रेम दुवाडीले पनि पाण्डेको नाम उम्मेदवार हुने इच्छाएका व्यक्तिहरूको लिस्टमा नआएको बताए । ‘इच्छा जाहेर गर्नेको नाम जिल्ला कमिटीमा पठाइएको हो । हलमा पनि कसैले उहाँ (सुरेन्द्र पाण्डे) को नाम प्रस्ताव गरेनन्, सोही अनुसार आज नाम पठाइएको हो,’ दुवाडीले भने ।

एमालेका निवर्तमान उपाध्यक्ष रहेका नेता पाण्डेले आफूलाई जिल्ला अध्यक्षले फोन गरेर एकपटक पनि के गर्नुहुन्छ भनेर नसोधेको बताए ।

‘पार्टीका अरु नेताहरूले फोन गर्नुभएको थियो, मैले सबैभन्दा उपयुक्त र लोकप्रिय पात्रहरू छानेर सिफारिस गर्नुस् भनेको थिएँ, म नेपालगञ्ज भएकोले उपस्थित हुन सक्ने अवस्था थिएन,’पाण्डेले भने,’ मैले मेरो नाम सिफारिस गर्नुस् भनेर जिल्ला कमिटी वा क्षेत्रीय कमिटीलाई भन्नुपर्छ जस्तो लाग्दैन, एमालेका ठूला नेताहरूले पनि मेरो नाम सिफारिस गर्नुस् भनेर कसैले भनेको छ जस्तो मलाई लाग्दैन । पार्टीले बुझ्ने कुरा हो, जिल्ला अध्यक्षले जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपर्ने कुरा हो भन्ने मेरो धारणा छ ।’

एमाले क्षेत्रीय कमिटीले गरेको सिफारिसमा जिल्ला अध्यक्ष कमलराज पाठक,एमाले बागमती प्रदेश उपाध्यक्ष तथा पूर्वप्रदेश मन्त्री दावा दोर्जे लामा, कृष्णलाल चौधरी, किशोरचन्द्र खनाल, भरत भण्डारी र लक्ष्मी कोइराला पोखरेल रहेका छन् ।

यो क्षेत्र पाण्डेले निर्वाचन लड्दै आएको क्षेत्र हो । ०७० सालको संविधानसभा र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पाण्डे यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

समाचार वर्गहरू