बालेनलाई गाडी दिने मालपानीको भन्सार ‘कनेक्सन’, ७६ लाख राजस्व छली भएको पुुष्टि

85

काठमाडौं – झापाको निर्वाचन क्षेत्र नं ५ मा उम्मेदवार रहेका काठमाडांै महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन)ले झापालगायत पूर्वी नेपालको भ्रमणका क्रममा प्रयोग गरेको ल्यान्ड रोभर डिफेन्डर गाडी खरिद गर्दा ७६ लाख ५० हजार ७ सय २० रुपियाँ राजस्व छली गरिएको पुष्टि भएको छ ।

बालेनलाई सो गाडी करेन्ट चाउचाउका मालिक कमलकिशोर मालपानीका छोरा रितेशले सहयोगस्वरूप उपलब्ध गराउनुभएको थियो । रितेश र बालेन साथी हुन् । विवादास्पद व्यापारी मालपानीको ६ करोड रुपियाँभन्दा बढी मूल्यको सो गाडी चढेको भन्दै बालेन आलोचित भएपछि उहाँले सो गाडी चढ्न छोड्नुभएको छ । यद्यपि, सो गाडी प्रयोग गरिएको सम्बन्धमा बालेन र उहाँको सचिवालयबाट कुनै धारणा आएको छैन ।

उक्त गाडी मालपानीका छोरा नितेश सञ्चालक रहेको त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा रहेको यातायात व्यवस्था विभागको अभिलेखमा उल्लेख छ । नबिल बैंक लिमिटेडमा राखिएको उक्त गाडीको ऋणीमा पनि त्रिमूर्ति इन्डस्ट्रिज प्रालि उल्लेख छ ।

मालपानी विभिन्न कर छलीमा मुछिँदै आएका विवादास्पद व्यापारी हुन् । बालेनले प्रयोग गरेको वागमती प्रदेश–०१–०३३च४३४३ नम्बरको उक्त गाडी काइरोस इन्टरनेसनलले नेपाल भित्र्याएको हो । काइरोस मालपानीकै निकट कम्पनी रहेको बताइएको छ । काठमाडौंको ज्ञानेश्वरमा कार्यालय रहेको काइरोसले सन् २०२४ देखि हालसम्म नेपालमा आयात गरेका ल्यान्ड रोभर कम्पनीका विभिन्न मोडलका १५ वटा सवारी साधनको भन्सार जाँचपासको कागजात र स्पेसिफिकेसनको प्राविधिक विवरण भिडाई चेकजाँच गर्दा ६ वटा सवारी साधनहरूमा भन्सार छली गरेको पाइएको भन्सार विभाग स्रोतले जानकारी दिएको छ । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि विस्तृत अनुसन्धान गर्दै आइरहेको छ । अख्तियारले पनि ती १५ वटा गाडीको भन्सार प्रक्रियाका बारेमा अनुसन्धान जारी राखिएको जनाएको छ ।

अख्तियारको छानबिनको क्रममा ल्यान्ड रोभर कम्पनीको २ वटा डिफेन्डर ११० मोडलको २९९६ सिसिको डिजेल इन्जिनको सवारी साधनलाई कुल भन्सार दर ३५८.६७ प्रतिशत लाग्नेमा भन्सार जाँचपास गर्दा पेट्रोल इन्जिन प्लग इन हाइब्रिडको २९९६ सीसी जनाई कुल भन्सार दर २५७.९८ प्रतिशतमात्र लगाई जाँचपास गरेको देखिएको र उल्लिखित दुई गाडीबाट १ करोड ५० लाख ११ हजार १ सय ९३ राजस्व छली गरेको पाइएको छ ।

यसै गरी काइरोसले खरिद गरेको ल्यान्ड रोभर कम्पनीको ३ वटा रेन्ज रोभर भेलर (१९९७सीसी, डिजेल इन्जिन, आईसीसी र १ वटा रेन्ज रोभर इभोक( १९९७ सीसी, डिजेल इन्जिन, आइसीसी) गरी ४ वटा डिजेल इन्जिनको सवारी साधनलाई कुल भन्सार दर २९१ .५५ प्रतिशत लाग्नेमा भन्सार जाँचपास गर्दा पेट्रोल इन्जिन, प्लग इन हाइब्रिडको २९९६ सीसी जनाई कुल भन्सार दर २५७.९८प्रतिशतमात्र लगाई जाँचपास गरेको पाइएको छ । ती चार वटा गाडीबाट ७१ लाख ४९ हजार रुपियाँ राजस्व छली गरेको भन्सार विभाग स्रोतले जानकारी दिएको छ ।

यातायात र भन्सारको सेटिङ

यी गाडीहरू आयात गर्दा राजस्व छली कार्यमा सरकारका यातायात र भन्सार कार्यालयहरूकै सेटिङ रहेको पाइएको छ । यातायात व्यवस्था विभाग मीनभवनले सवारी साधनको स्पेसिफिकेसनको गलत विवरण खुलाई सवारी साधन आयात तथा दर्ता गर्न यातायात कार्यालयहरू, भन्सार विभाग र भन्सार कार्यालयलाई पत्राचार गरेको पाइएको छ ।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाले ती गाडीहरूमा भएको राजस्व छलीका बारेमा ओभरसाइट एजेन्सीबाट अनुसन्धान भइरहेको बताए । उनले भन्सार छली कार्यमा संलग्न हुनेहरूमाथि आन्तरिक रूपमा पनि छानबिन थालिएको जानकारी दिए ।

यातायात व्यवस्था विभागले पनि सवारीसाधनको यथार्थ नै नबुझी अनुमति दिएको देखिन्छ । जसमा ठूलो आर्थिक मिलेमतोको आशंका गरिएको छ । यातायात व्यवस्था विभागले ल्यान्ड रोभर कम्पनीको २९९६ सीसीको पीएचईभी पेट्रोल गाडी आयातको अनुमति दिएको देखिन्छ ।

वाणिज्य विभाग, यातायात व्यवस्था विभाग हुँदै उक्त गाडी भन्सारमा आइपुग्दा पनि गम्भीर लापरबाही भएको छ । नेपाली कम्पनी काइरोस इन्टरनेसनलले यातायात व्यवस्था विभागले दिएको अनुमतिलाई नै आधार मानेर २९९६ सीसी क्षमताको पेट्रोल हाइब्रिड ल्यान्ड रोभर डिफेन्डर भनेर इन्भोइस तयार गरेको पाइएको छ ।

जबकि, ल्यान्ड रोभर कम्पनीले उक्त मोडलमा २९९६ सीसीको पेट्रोल हाइब्रिड (पीएचईभ) गाडी उत्पादन गरेको तथ्य भेटिँदैन । राजस्व छली गर्नकै लागि काइरोसका प्रतिनिधिले पेट्रोल हाइब्रिड (पीएचईभ) भनेर उल्लेख गरेको प्रष्टै छ ।

उक्त गाडी भन्सारमा आइपुग्दासमेत भन्सारका कर्मचारीहरूले कुनै किसिमको प्राविधिक वा कागजी चेकजाँच नै नगरी कम्पनीका प्रनिनिधिहरूसँग ठूलो साँठगाँठ गरी १०१ प्रतिशत भन्सार महसुल कम गरी गाडी भित्र्याउन छुट दिएको स्रोतले जानकारी दिएको छ । नेपालसमाचारपत्र

समाचार वर्गहरू