गगन थापा प्रधानमन्त्री बन्ने गरी देशव्यापी ‘मुभमेन्ट’ बढेको छ : काँग्रेस उपसभापति शर्मा

4

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गगन थापा प्रधानमन्त्री बन्ने गरी देशव्यापी रुपमा ‘मुभमेन्ट’ बढिरहेको दावी गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले उनले भने, ‘जेनजी मुभमेन्ट पछाडि कांग्रेस नयाँ भएर आएको छ ।

यदि नागरिक पंक्तिले परिवर्तन खोज्नु भएको हो भने जेनजी मुभमेन्ट पछाडि परिवर्तन नै भएर आएको चाहिँ कांग्रेस छ । जो आफूलाई बदल्न सक्छ, त्यसले नै देशलाई बदल्न सक्छ ।’ बाहिरको धेरै हल्लाखल्लामा कांग्रेसले विश्वास नगर्ने भन्दै सभापति गगन थापा अब प्रधानमन्त्री बन्ने गरी एउटा मुभमेन्ट राष्ट्रव्यापी रूपमा अघि बढिसकेको उनले बताए ।

उनले भने, ‘अहिले प्रधानमन्त्री पदको लागि कुनै व्यक्तिको व्यक्तित्व, कसको भिजनले, कसको बौद्धिकताले, कसको मुभमेन्टले नेपाली समाजमा सबैभन्दा बढी उद्वेलित गराइरहेको छ, प्रभाव पारिरहेको छ भने कांग्रेसका सभापति गगन थापा अब प्रधानमन्त्री बन्ने गरी एउटा मुभमेन्ट राष्ट्रव्यापी बढिरहेको अवस्था छ ।’

उपसभापति शर्माले आगामी निर्वाचनबाट सबैभन्दा ठूलो दलका रूपमा कांग्रेस अगाडि आउँदै गरेको दाबी समेत गरे । उनले कांग्रेसमा विगतमा पार्टी छाडेर जानेहरू फर्किने क्रम बढिरहेको बताए ।

कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित

यसैबीच नेपाली कांग्रेसले आज सार्वजनिक गर्न लागेको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित गरेको छ । आज सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन –२०८२ का लागि पार्टीको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।

कांग्रेसले आज जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । प्रतिज्ञा पत्रमा कांग्रेसले ५ वर्षमा पार्टीले गर्ने मुख्य १० भिजन समेटेको जनाएको छ ।

समाचार वर्गहरू