राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ : पुर्वराजा ज्ञानेन्द्र शाह

9

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन् । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको अवस्था सामान्य नभएको उनको भनाइ छ।

‘प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वभाविक प्रक्रिया भए पनि । यतिखेरको आम जनभावना यो छ कि राष्ट्रिय समस्या समाधान गरेरमात्रै निर्वाचनमा जानु उचित हुनेछ,’ उनले भने, ‘मुलुकमा निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न समझदारी बनाएर जाँदा सही बाटो हुने थियो ।’ उनले मुलुकमा अधिकार खोज्ने तर कर्तव्य नसोच्चे अवस्था आउनु दुखद् भएको पनि बताएका छन् ।

‘वर्तमान अवस्थामा अधिकार मात्रै खोज्ने तर कर्तव्य नसोच्ने दुखद् परिस्थितिमा आलोपालो भाग लगाएर खाऔं भन्ने सोचले हैन मिलेर जाऔं भन्ने सोचेले मुलुकलाई नयाँ गति दिन सकिन्छ’ उनले भने,’यतिखेरको आम जनभावना यही छ कि पहिला मुलुकका गम्भीर राष्ट्रिय समस्याको समाधान गरियोस् र त्यसपछि मात्र निर्वाचन प्रक्रियातर्फ अघि बढियोस् ।’

हाल देश कसैलाई खुसी पार्न वा कसैबाट निर्देशित हुन बाध्य हुने अवस्थाको जञ्जिरमा बाँधिएको भन्दै उनले जनता आफैँ सचेत र जागरुक नहुँदासम्म प्रजातन्त्र बलियो नहुने बताए । अहिले सिंगो मुलुक अस्वाभाविक छटपटी, अन्योलको भुमरीमा फसेको र देशको अस्तित्व नै संकटमा परेको अनुभूति आम नेपालीले गरिरहेको उनले बताएका छन् । विगतमा भएका विभिन्न आन्दोलन र राजनीतिक परिवर्तनले वास्तवमा नेपाल र नेपालीलाई के दियो भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उनको धारणा छ।

७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले अहिलेकै विषम परिस्थितिमा र राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उचित नहुने धारणा समेत राखेका छन् । मुलुक अस्वाभाविक छटपटीको भुमरीमा फसेको टिप्पणी गर्दै पूर्वराजा शाहले जुनसुकै व्यवस्थाका पनि राम्रा पक्षलाई लिनुपर्ने तर खराब पक्षलाई त्याग्नुपर्नेमा जोड दिए । उनले भनेका छन्, ‘कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ । जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यस्तालाई फाल्नु र फ्याँक्नुपर्छ ।’

देशको भू–बनोट र समाजको प्रकृति सुहाउँदो व्यवस्थाले मात्र सकारात्मक परिणाम दिने उनको जिकिर छ । प्रजातन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भए पनि वर्तमान अवस्थामा चुनावको औचित्यमाथि उनले प्रश्न उठाएका छन् । यतिबेलाको आम जनभावना चुनावभन्दा पहिले देशको संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने रहेको उनले औंल्याए । ‘मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो,’ पूर्वराजाको सन्देशमा उल्लेख छ ।

अहिलेको राजनीतिक नेतृत्वप्रति कडा प्रहार गर्दै पूर्वराजाले ‘आलोपालो र भाग लगाएर खाऔँ’ भन्ने सोचले देश नबन्ने बताए । उनले अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाएको र कसैलाई खुसी पार्न वा कसैबाट तोकिन बाध्य ‘बाध्यात्मक व्यवस्थाको जञ्जिर’ मा देश बाँधिएको टिप्पणी गरे । अरूको भरमा परेर अक्करमा नपर्न समेत उनले राजनीतिक नेतृत्वलाई सचेत गराएका छन् । विगतमा भएका आन्दोलन र संघर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको शाहले बताए ।

देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेको भन्दै उनले एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिए । झापा बसाइपछि काठमाडौँ फर्कने क्रममा जनताबाट प्राप्त स्नेह र समर्थनले आफूलाई राष्ट्रप्रति थप जिम्मेवार बनाएको बताउँदै उनले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औंल्याएका छन् । प्रजातन्त्र दिवसको सन्दर्भमा उनले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने जिजुबुवा राजा त्रिभुवन र ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले विश्वसामु नेपालीको शिर उच्च हुने व्यवस्थाको वकालत गरेका छन् । प्रजातन्त्र दिवस बिहीबार मनाइँदै छ ।

समाचार वर्गहरू