काठमाडौं – सिन्धुपाल्चोक -२ का नेपाली काँग्रेसका उम्मेदवार बंशलाल तामाङले प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा आफ्नो प्रतिस्पर्धी धेरै बलियो नभएको बताएका छन्।
कांग्रेस मेलम्ची नगरपालिका समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘मैले धेरै प्रतिस्पर्धी देखेको छैन, कक्षा बीचमै छोड्ने व्यक्ति मेरो प्रतिस्पर्धी हुन सक्दैन।’
उनले युवराज दुलालप्रति लक्षित गर्दै प्रदेश सभा सदस्य हुँदाहुँदै कार्यकाल बाँकी रहँदा जनताले दिएको म्यान्डेटलाई बेवास्ता गर्दै चुनावमा होमिएको आरोप लगाए। त्यस्तै, एमालेबाट उम्मेदवार बनेका शेर बहादुर तामाङ प्रति कटाक्ष गर्दै पटक–पटक असफल भएको दाबी गरे।
तामाङले महाभारतको युद्धमा धर्मको विजय भएको प्रसंग स्मरण गराउँदै कांग्रेस धर्मको पक्षमा रहेको बताए। ‘पार्टीका सबै साथीहरू मेरो साथमा हुनुहुन्छ, फागुन २१ गतेको निर्वाचनमा म विजयी हुन्छु,’ उनले दाबी गरे।
सिंहदरबार जलाउनेहरूले देश बनाउन नसक्ने जिकिर गर्दै उनले कांग्रेस परिमार्जित भएर आएको पार्टी भएको बताए।
‘हामी सम्मानित नेपाली र सम्मानित सिन्धुपाल्चोक बनाउँछौं। एक पटक मौका दिनुहोस्, तपाईंहरूको शिर निहुरिन दिने छैन,’ उनले भने।