नुवाकोटका सुमन पाण्डेले पनि छोडे रास्वपा

26

काठमाडौं। पर्यटन व्यवसायी सुमन पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेका छन् ।

संगठन विस्तारमा आफूले खेलेको भूमिकाको कदर नभएको र नेतृत्व तहबाट एकल निर्णयका आधारमा उम्मेदवार चयन गरिएको आरोप लगाउँदै उनले पार्टी छाडेका हुन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको तयारीमा रहेका पाण्डेलाई उपसभापति डोलप्रसाद अर्यालको पहलमा रास्वपाबाट चुनावी मैदानमा उतारिएको थियो। छोटो तयारीका बीच नुवाकोटमा चुनाव लडेका उनले १६ हजार ४७७ मत प्राप्त गरेका थिए। त्यतिबेला उनले नेकपा एमालेका उम्मेदवारभन्दा बढी मत ल्याएको दाबी गरिएको थियो, जसले जिल्लामा उनको व्यक्तिगत प्रभाव देखाएको थियो।

पाण्डेका अनुसार नुवाकोटका सबै वडामा संगठन विस्तार गरेर पार्टीलाई आधार निर्माण गरिए पनि अन्तिम समयमा टिकट वितरणमा पारदर्शिता नदेखिएको छ। ‘मैले नुवाकोटका सबै वडामा संगठन विस्तार गरेको थिएँ, सम्भवत देशभरमै पहिलो हुन सक्छ,’ उनले भने, ‘तर नेतृत्वले जिल्लामा काम गर्नेहरूको मूल्यांकन गरेन।’

उनले सभापति रवि लामिछानेको नेतृत्वशैलीप्रति पनि असन्तुष्टि जनाएका छन्। ‘पुराना दललाई आलोचना गरेर नयाँ राजनीतिक संस्कारको कुरा गर्ने तर व्यवहारमा उही शैली दोहोरिने हो भने फरक के रह्योरु’ उनले प्रश्न गरे।

पार्टीभित्र दिल–ज्यान दिएर लाग्दा पनि अन्तिम समयमा अर्कै व्यक्तिलाई टिकट दिइनु आफूलाई अस्वीकार्य लागेको पाण्डेको भनाइ छ। ‘हामी जिल्लामा काम गर्नेहरूलाई बेवास्ता गरी नेताको खल्तीबाट उम्मेदवार चयन गर्ने परिपाटी गलत हो,’ उनले भने, ‘नयाँ दलले पुरानै प्रवृत्ति दोहोर्‍याउँदा यहाँ बसिरहनुको अर्थ देखिनँ।’

समाचार वर्गहरू