चुनावमा एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षा व्यवस्थापन गर्दै सेना

96

काठमाडौं । नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा व्यवस्थापनको भरपर्दो प्रबन्ध गरेको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि निर्वाचन सुरक्षाका लागि परिचालन भएको नेपाली सेनाले विगतमा जस्तै यसपटक पनि सुरक्षा व्यवस्थाको योजना बनाएको छ ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन केन्द्रित तालिम तथा संयुक्त अभ्यास सञ्चालन गरी आवश्यक तयारी पूरा भइसकेको छ । यसबीचमा सेनाले मतपत्र छपाइ सुरक्षाको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ ।

आजसम्म ७५ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी भइसकेको र भोलिसम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । भौगोलिक अवस्थाअनुसार पाँच जिल्लामा हवाई माध्यमबाट र अन्य जिल्लामा स्थल मार्गबाट मतपत्र ढुवानी गरिएको हो ।

सेनाले २०४८ साल यताका सबै निर्वाचनमा मतपत्र छपाइस्थलको सुरक्षा, काठमाडौंबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी गर्दै आएको छ ।

एकीकृत सुरक्षा योजनाअनुसार सेनाले निर्वाचनका दौरान मतदान केन्द्र तथा मतगणना स्थलको सुरक्षा, हवाई गस्ती, शङ्कास्पद वस्तु निष्क्रिय पार्नेलगायत कार्य गर्नेछ । सुरक्षा व्यवस्थाको तेस्रो घेरामा रही आवश्यकताअनुसार विभिन्न साधनमार्फत थप फौज समेत परिचालन गरी जुनसुकै सुरक्षा घेरामा खटिइ निर्वाचनलाई सुरक्षित वातावारण तयार गरिने सेनाले जनाएको छ ।

निर्वाचन सुरक्षालाई थप सुदृढ बनाउन स्थानीय प्रशासन र सम्बद्ध सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरी देशभर विभिन्न स्थानमा बेस स्थापना गरी नियमित गस्ती भइरहेको छ ।

समाचार वर्गहरू