निर्वाचनमा सहभागी नहुने गरि सिंगापुर प्रस्थान गरे शेरबहादुर देउवा

80

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर प्रस्थान गरेका हुन् । सिंगापुर एयरलाइन्सको उडानबाट देउवा बुधबार नै त्यसतर्फ गएको बताइएको छ । देउवा बुधबार राति ११ बजेर ३० मिनेटमा सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको बताइएको छ ।

देउवा बुधबार राति साढे १० बजे अन्तर्राष्ट्रिय टर्मिनल तर्फको स्टेरलाइज एरिया (विमान प्रतीक्षा कक्ष) मा देखिनुभएको थियो,’ स्रोतले भन्यो, ‘अरु २–३ जना पनि साथमै देखिन्थे ।’ यसअघि नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री देउवाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मतदान समेत नगर्ने समाचार सार्वजनिक भएको थियो ।

विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि स्तब्ध बनेका देउवा निर्वाचन आयोगले आफूलाई आधिकारिकता नदिएपछि विचलित थिए । सर्वोच्च अदालतले समेत अन्तरिम आदेश नदिएपछि अन्तिमपटक रुख चिह्नबाट चुनाव लड्ने प्रयास गरेका थिए । तर सभापति गगन थापाले टिकट नदिएपछि देउवा प्रतिनिधि सभा निर्वाचनका सबै प्रक्रियाबाट बाहिर थिए ।

उनलाई ‘बदलिएको कांग्रेस’का पदाधिकारीहरुले विभिन्न च्यानलबाट पार्टीको चुनावी अभियानलाई साथ दिन आग्रह गरे पनि उनले मानेका थिएनन् । कांग्रेसका उम्मेदवारलाई जिताउन रुखमा मत माग्ने अपिलमात्र भने पनि सार्वजनिक गराउने प्रयास समेत सफल भएको थिएन ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले पूर्वसभापति देउवालाई पार्टीका उम्मेदवार जिताउने अभियानमा सामेल गराउने प्रयास भइरहेका बताएका थिए । तर देउवाको सचिवालयले भने कसैसँग भेटघाट र कुराकानी नभएको तथा कसैको प्रचारमा जाने सम्भावना पनि नरहेको प्रष्ट पारेको थियो ।

सचिवालय स्रोतले भन्यो, ‘बदलियो कांग्रेस,बदल्छौँ देश भन्ने नेताहरुले शेरबहादुरको अनुहार देखाएर चुनाव गयौँ भने हारिन्छ भनेर सेटिङ मिलाएर जबर्जस्ती पार्टी कब्जा गरेको होइन रु अहिले आएर उहाँहरुलाई किन देउवा चाहियो ? देउवाको अपिल वा देउवा अभियानमा हिँड्दा कांग्रेसको भोट घट्यो भन्ने आरोप भोलि चुनावपछि उहाँहरुले नै लगाउने सम्भावना भएकाले उहाँ चुपचाप सबै अत्याचार सहेर बस्नुभएको छ ।’

डडेलधुराबाट २०४८ देखि लगातार ७ वटा चुनावमा कांग्रेसको उम्मेदवार भएर सातैपटक जितेका देउवा अन्तिम चुनाव लड्न नपाएपछि घरबाट निस्केका थिएनन् । उनको ठाउँमा उनीनिकटकै युवा नेता नैनसिंह महरले टिकट पाएका छन् । देउवा यसपटक भोट हाल्न पनि डडेलधुरा नजाने विषय बाहिरिएको थियो ।

समाचार वर्गहरू