अब सबैभन्दा पहिला शेरबहादुर देउवा र मेरै सम्पत्ति छानबिन हुन्छ – सभापति थापा

82

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले ०४६ सालपछि बनेका प्रधानमन्त्री र मन्त्रीका सम्पत्ति छानिबन हुने बताएका छन् ।

कांग्रेस बागलुङ क्षेत्र नम्बर-१ ले सदरमुकाममा शुक्रबार आयोजना गरेको चुनावी सभामा सभापति थापाले कांग्रेसकै नेताबाट सम्पत्ति छानबिन थालिने बताएका हुन् ।

‘सबैभन्दा पहिला शेरबहादुर देउवा, मेरै र प्रत्येक पटक प्रधानमन्त्री एवं मन्त्री भएका व्यक्तिको सम्पत्ति छानबिन हुने छ,’ थापाले भने । पाँच वर्षे अविधका एक/एक दिन सदुयोग हुने पनि उनले बताए । ‘संकल्प गरेका प्रस्तावअनुसार काम पूरा गर्न कांग्रेस दृढ छ,’ उनले भने, ‘देश बनाउने अठोटका साथ जनतामाझ कांग्रेस आएको छ ।’ उनले कांग्रेस कर्म र संकल्पसहित अगाडि बढेको बताए ।

सभापति थापाले सरकार चलाउने बारेमा आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने खाकामा स्पष्ट रहेको बताए । ‘सरकारमा गएर मात्रै सिक्ने, योजना बनाउनेहरूलाई दिने भनियो भने देश फेरि पछाडि धकेलिन्छ, सिकेर तम्तयार भएको टिमलाई देश हाँक्ने जिम्मा दिनुपर्छ, त्यस्तो टिम नेपाली कांग्रेससँग मात्रै छ’, उनले भने।

उनले थपे, ‘देश एक्लैले बनाउन सकिने र एक्लैले चलाउन सकिने चिज होइन, सबैलाई समेटेर बनाउनु पर्छ, त्यो काम पनि कांग्रेस बाहेक अरूले गर्न सक्दैनन्, त्यसैले कांग्रेसलाई बहुमत दिनुहुन अनुरोध छ।’

सभापति थापाले कांग्रेस बाहेक अरूले सबैलाई समेटेर लैजान सक्ने अवस्था नरहेको दाबी गर्दै पुराना वा नयाँ सबैलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग मात्रै रहेको उल्लेख गरे। उनले कांग्रेस अहिले धेरै सुध्रिएर आएकाले कांग्रेसलाई मत हाल्नु नपर्ने कारण केही नरहेको र कांग्रेसलाई मत हाल्नु पर्ने कारण धेरै रहेको बताए।

समाचार वर्गहरू