काठमाडौँ । मध्यपूर्वमा सुरु तनावपूर्ण परिस्थितिलाई ध्यानमा राखेर नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकका लागि एड्भाइजरी जारी गरेको छ।
सरकारले उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले परिस्थितिको सूक्ष्म निगरानी गरिरहेको जनाउँदै तत्कालका लागि यी दुई देशको यात्रा नगर्नसमेत एड्भाइजरीमा उल्लेख गरेको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायल र इरानमा रहेका नेपालीहरूलाई त्यहाँका सम्बन्धित सरकारी तथा सुरक्षा निकायले जारी गरेका सुरक्षा सल्लाह र निर्देशन पालना गर्न अनुरोध गरेको छ।
नागरिकहरूलाई घरभित्रै बस्न, चनाखो रहन, आवश्यक सावधानी अपनाउन र आफू रहेको क्षेत्रका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन भनेको छ। इजरायल वा इरान जाने तयारीमा रहेका नेपाली नागरिकलाई तत्काल यात्रा रोक्न भनिएको छ।