राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवले प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान नगर्ने

8

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवले तटस्थ रहदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् । पहिलो राष्ट्रपति रामवरण यादव, दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पदमा बहाल रहँदा मतदान गरेका थिएनन् ।

‘संविधानमा तटस्थ भूमिका रहेकाले राष्ट्रपति र उपराष्ट्रपतिले मतदान गर्न नमिल्ने रहेछ,’ राष्ट्रपति र उपराष्ट्रपतिको सचिवालयको जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने धापासी हाइटस्थित विद्याललमा रहेको केन्द्रमा मतदान गर्ने छन् । पूर्वराष्ट्रपतिहरूले भने मतदान गर्दै आएका छन् ।

पूर्वराष्ट्रपति रामवरण यादवले धनुषाको लक्ष्मीनयी गाउँपालिकास्थित बीपी कोइराला माध्यामिक विद्यालयबाट मतदान गर्दै आएका छन् ।

यसपटक पनि उनले त्यहीबाट मतदान गर्नेछन् । पूर्वराष्ट्रपति विद्या भण्डारीले बुढानिलकण्ठ नगरपालिका(२ साविकको गाविस भवनमा मतदान गर्ने कार्यक्रम छ । राष्ट्रपतिमा बहाल रहँदा यादव र भण्डारीले पनि मतदान गरेका थिएनन् ।

राष्ट्रपति र उपराष्ट्रपति ‘संवैधानिक तटस्थ’ को भूमिकामा रहेकाले मतदान नगर्ने परम्परा छ । संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिले प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा मतदानबारे उल्लेख छैन ।

त्यस्तै पूर्वउपराष्ट्रपति परमानन्द झा र नन्दबहादुर पुनले पनि मतदान गरेका थिएनन् । झा निवृत्त जीवन बिताइरहेका छन् भने पुन सक्रिय राजनीतिमा आइसकेका छन् ।

संविधानले राष्ट्रपतिलाई मुलुकको राष्ट्राध्यक्षको भूमिकामा रही कार्यसम्पादन गर्नुपर्ने स्पष्ट गरेको छ ।

‘राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुनेछ । निजले यस संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ । राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ,’ संविधानमा उल्लेख छ, ‘संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

राष्ट्रपतिले यो संविधान वा संघीय कानुन बमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।’

पूर्वप्रधानमन्त्रीहरू एवं एमाले अध्यक्ष केपी ओलीले भक्तपुर(२ बालकोटमा, नेकपा संयोजक पुष्पकमल दाहालले चितवन ३ को भरतपुर १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका संस्थापक बाबुराम भट्टराईले गोरखा(२ अन्तर्गत पालुङटार नगरपालिका–१ खोप्लाङबाट मतदान गर्ने छन् ।

नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन क्षेत्र रौतहट(१ को गौरको एक विद्यालयको केन्द्रमा मतदान गर्दै आएका छन् ।

समाचार वर्गहरू