देशका विभिन्न मतदान स्थलमा विवाद : कतै पक्राउ, कतै मतपत्रको ठेली नै बोकेर हिँडेका नेतालाई खोजी

6

काठमाडौं । मतदान चलिरहेको समयमा निर्वाचन बिरोधी पर्चा वितरण गर्ने नेकपा बहुमतका दुई जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका १० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालय अगाडि निर्वाचन विरोधी पर्चा पम्लेट देखाउने क्रममा नियन्त्रणमा लिएको दुई जनालाई नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।

नेकपा बहुमतको जिल्ला सेक्रेटरी धादिङ गल्छी गाउँपालिका वडा नम्बर १ घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका ०७ बसोबास गर्ने वर्ष २९ को सुमन श्रेष्ठ र नेकपा बहुमत निकट विद्यार्थी संगठनका चितवन संयोजक कालिका नगरपालिका ४ पदमपुर घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका १० बसोबास गर्ने वर्ष २१ को किरण गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट मोबाइल एक थान र पर्चा पम्प्लेट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यसैगरी, मोरङको सुनवर्षी नगरपालिकामा मतदान केन्द्रमा खटिएका मतदान कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मतदान अधिकृतलाई गाली गलौज गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका अनुसार सुनवर्षी नगरपालिका–६ स्थित पटियापाडा माध्यमिक विद्यालयको ९ग० मतदान केन्द्रमा खटिएका कर्मचारी रंजित सिवाले मतदान अधिकृतसँग झैझगडा र गालीगलौज गरेका थिए ।

निर्वाचन प्रक्रियामा असहयोग गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका सिवा नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रमा कार्यरत सहायक पाँचौँ तहका कर्मचारी हुन् । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिजुवामा ल्याएको जनाएको छ ।

उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिएका छन्। यसैगरी, दोलखाको तामाकोशी गाउँपालिका ४ को मालु मतदान केन्द्रमा तनावको कारणले रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाएपछि अवस्था तनावग्रस्त बनेको थियो।

नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीले मतपत्रको ठेली नै बोकेर हिँडेका थिए। मतदान अधिकृतले रोक्न खोज्दाखोज्दै कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गर्न खोजेपछि परिस्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो।मतपत्रको ठेली नै बोकेर हिँडेका कांग्रेस र नेकपा नेताहरूलाई खोजी भइरहेको छ।

समाचार वर्गहरू