काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएका छन्।
प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएलगत्तै विज्ञप्ति जारी गर्दै निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नेप्रति आभार व्यक्त गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ ।’
केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन्। निर्वाचन सफल बनाउन अहोरात्र खटिएका कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
