सात सिट जितेको पार्टीबीच एकता हुँदा पनि सुदूरपश्चिममा नेकपा ‘निल’

90

काठमाडौं – अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा साविक माओवादी केन्द्र निल भएको थियो। त्यही नतिजा अहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भोग्नु परेको छ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका १६ मध्येका चार सिटमा र तत्कालीन नेकपा एकीकृत समाजवादीले ४ सिटमा उम्मेदवारी दिएका थिए।

साविक नेकपा एसका सबै उम्मेदवार विजयी हुँदा माओवादीका कुनै पनि उम्मेदवारले निर्वाचन जित्न सकेनन्। यसपटक पनि नेकपाको अवस्था त्यस्तै दयनीय देखिएको छ।

सुदूरपश्चिम प्रदेशका कुनै पनि निर्वाचनमा अहिलेसम्म नेकपाले नतिजा ल्याउन सकेको छैन । मतगणना भइरहेका बाजुरा, दार्चुला, अछाम–२ र बैतडीमा पनि  पुछारमा  छ।

अघिल्लो पटक ४ सिट जितेको नेकपा एकीकृत समाजवादी र ३ सिट नागरिक उन्मुक्ति पार्टीसहित माओवादी केन्द्रको पनि एकतापछि नेकपा तयार भएको थियो। प्रदेशमै सात सिट जितेको पार्टी एक भएर निर्वाचनमा होमिँदा पनि यस पटक  नेकपाले नतिजा ल्याउन सकिरहेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीको लहरका बीच कैलाली–३ र कञ्चनपुर–१ मा नेकपाका उम्मेदवार विरमान चौधरी र विना मगर निकटतम प्रतिस्पर्धी मात्रै बन्न सके। उता अछाम–१ मा भीम रावल कांग्रेस उम्मेदवार भरतबहादुर स्वारसँग ५२६ मतले पराजित भन्। २०५६ सालपछि पहिलो पटक कांग्रेसले यहाँ जितेको हो।

सुदूरपश्चिम प्रदेशमा नेकपा निल बन्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अधिकांश क्षेत्रमा जित हासिल गरिरहेको छ। कैलालीका निर्वाचन क्षेत्र १, ३ र ५ मा रास्वपाका उम्मेदवार विजयी भइसकेका छन् भने ४ मा पनि रास्वपाले अग्रता बनाइरहेको छ।

कैलाली क्षेत्र नम्बर २ मा रास्वपा र नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवारबीच कडा टक्कर भइरहेको छ।

कञ्चनपुर–२ मा रास्वपाले जित हात पार्दा अन्य दुई क्षेत्रमा पनि भारी मतको अग्रता कायम छ। डडेल्धुरामा पनि रास्वपा उम्मेदवार विजयी भइसकेका छन् भने बैतडीमा पनि रास्वपा र एमालेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।

अछाम–१ र डोटीमा कांग्रेसले विजय हासिल गरिसकेको छ भने बझाङमा एमाले उम्मेदवार विजयी भइसकेका छन्। अछाम–२, दार्चुला र बाजुरामा कांग्रेस–एमालेको प्रतिस्पर्धा चलिरहेको छ। रासस

समाचार वर्गहरू