प्रत्यक्षतर्फ निर्वाचित १४ महिला, कसको मत कति ?

111

काठमाडौँ – प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फको मतपरिणाम लगभग अन्तिम चरणमा पुगेको छ। देशभर १६५ निर्वाचन क्षेत्रमध्ये १५५ क्षेत्रको मत परिणाम आइसकेको छ। निर्वाचन आयोगका अनुसार मत गणना जारी रहेका १० क्षेत्रमा रास्वपा ६ र एमाले तीन क्षेत्रमा अगाडि छ। धनुषा १ मतगणना जारी रहे पनि मत परिणाम सार्वजनिक गरिएको छैन।

निर्वाचन आयोगअनुसार अहिलेसम्म १४ जना महिला निर्वाचित भएका छन्। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३ जना र नेपाली कांग्रेसबाट एकजना छन्। अधिकांश निर्वाचित हुने महिलाको प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका पुरुष उम्मेदवार छन्।

रास्वपाले ११८ सिट जितिसकेको छ। यसमध्ये १३ सिटमा महिला छन्। यसपटक रास्वपाबाट सबैभन्दा धेरै महिला प्रतिनिधि हुने निश्चित छ। रास्वपाबाट चुनाव जित्नेमा निशा डाँगी, इन्दिरा रानामगर, आशा झा, रुविना आचार्य, पुष्पा कुमारी चौधरी, गौरी कुमारी, नितिमा कार्की, आशिका तामाङ, रञ्जु न्यौपाने (रञ्जु दर्शना), तोसिमा कार्की, सोबिता गौतम, बिना गुरुङ र कोमल ज्ञवाली छन्।

१७ सिट जितेको नेपाली कांग्रेसबाट एकजनामात्र महिला प्रतिनिधि छिन्। उनी हुन् दैलेख १ की बासना थापा। एमाले नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टीलगायत अन्य दलमा महिला प्रतिनिधिले जितेका छैनन्। स्वतन्त्र उम्मेदवारी दिएका महिलाको पनि जित शून्य देखिन्छ।

जितेकामध्ये कसले कति मत ल्याए?

चुनावमा रास्वपाले १६ जना, एमालेले १२ जना, कांग्रेसले ११ जना महिलालाई उम्मेदवार बनाएको थियो। देशभरका सात प्रदेशमध्ये लुम्बिनी प्रदेशबाट जित्ने महिला शून्य छ। अन्य प्रदेशमा भने महिला प्रतिनिधि देखिएका छन्।

कोशी प्रदेश

निशा डाँगी : निशा डाँगी रास्वपाको तर्फबाट निर्वाचित भएकी हुन्। उनी झापा क्षेत्र नं १ बाट विजेता बनेकी हुन्। निशाले ४५ हजार ६८० मत ल्याएर विजेता बनिन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५७० मत ल्याउन सफल भए।

निशा रास्वपाबाट २०७९ सालको प्रतिनिधि सभाको समानुपातिकतर्फबाट सांसद थिइन्। यसपटक उनी प्रत्यक्षतर्फबाट सांसद बनेकी छन्।

इन्दिरा राना मगर : झापा २ मा रास्वपाकै उम्मेदवार इन्दिरा राना मगर विजेता बनिन्। उनले ६० हजार ११० मत ल्याइन्। उनका प्रतिद्वन्द्वी नेकपा एमाले (नेपाल कम्युनिष्ट पार्टी) का देवराज घिमिरेले ११ हजार ३६८ मत ल्याए।

यसअघि उनी २०७९ सालमा प्रतिनिधिसभामा रास्वपाको समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्। त्यसलगत्तै उनले उपसभामुख बन्ने मौका पाएकी थिइन्। यसपटक भने उनी प्रत्यक्षतर्फ विजेता बनेकी हुन्।

आशा झा : मोरङ ५ मा रास्वपाकै अर्की उम्मेदवार आशा झा विजयी बनेकी छन्। उनले ३० हजार ४३४ मत ल्याएर जितिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलकुमार लालवानीले नौ हजार ४१५ मत ल्याएका छन्।

रुविना आचार्य : मोरङ ६ मा महिला उम्मेदवार रुविना आचार्य निर्वाचित बनिन्। रास्वपाबाट उम्मेदवार बनेकी उनले ५५ हजार ५१३ मत ल्याएर विजेता बनेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८ ५० मत ल्याए।

रुविना पहिलोपटक प्रत्यक्षमा निर्वाचित भएकी हुन्। उनी यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा विवेकशील साझा पार्टीबाट चुनाव प्रचारमा खटिएकी थिइन्। विवेकशील साझाको युवा संगठनअन्तर्गत बागमती प्रदेश समितिमा रहेर काम गरेकी आचार्य उक्त पार्टीको केन्द्रिय सदस्य थिइन्। अन्तत: उनी रास्वपाबाट चुनाव जितिन्।

मधेश प्रदेश

पुष्पाकुमारी चौधरी : सप्तरी १ मा महिला उम्मेदवार पुष्पा कुमारी चौधरी विजेता बनेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनले ३८ हजार १९५ मत ल्याइन्। भने उनका निकटतम प्रतिद्वन्द्वी स्वाभिमान पार्टी सुमित कुमारले सात हजार ८४७ मत ल्याउन सफल भए।

गौरी कुमारी : महोत्तरी ४ मा रास्वपाकी महिला उम्मेदवार गौरी कुमारी विजेता बनिन्। उनले ३० हजार १३२ मत ल्याइन्। भने उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका सुरेन्द्र कुमार यादवले ८ हजार ७४२ मत ल्याए।

गौरीले पहिलोपटक प्रतिनिधिसभा निर्वाचन जितेकी हुन्।

नितिमा भण्डारी (कार्की) : सर्लाही १ मा महिला उम्मेदवार नितिमा भण्डारी कार्कीले जितिन्। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चुनाव लडेकी भण्डारीले ४४ हजार १८१ मत ल्याएकी छन्। उनका निटकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शम्भु लाल श्रेष्ठले जम्मा ७ हजार ८७१ मत ल्याए।

बागमती प्रदेश

आशिका तामाङ : धादिङ १ बाट महिला उम्मेदवार आशिका तामाङ विजेता बनेकी छन्। उक्त क्षेत्रमा उनले ३९ हजार १२८ मत ल्याइन्। उनी पनि रास्वपाबाटै उम्मेदवार बनेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मत ल्याए।

कलाकारितासँगै सामाजिक अभियानमा होमिएकी आशिकाले पहिलोपटक चुनाव जितेकी हुन्।

रन्जु न्यौपाने (रन्जु दर्जना) : काठमाडौँ १ मा महिला उम्मेदवार रन्जु न्यौपाने (रन्जु दर्जना)ले जितिन्। उनले १५ हजार ४५५ मत ल्याएर विजेता बनेकी हुन्। उनका निटकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसमा प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याएर पराजित बने।

विवेकशील नेपाली पार्टीबाट राजनीतिमा प्रवेश गरेकी रञ्जु चुनाव हुने समयमा पार्टी त्यागेर रास्वपामा गएकी थिइन्। उनी रास्वपाबाट प्रत्यक्षतर्फ चुनाव जित्न सफल भइन्।
यसअघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी थिइन्। त्यस्तै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ ५ बाट उम्मेदवार बनिन्। तर दुवैपटक उनी पराजय खेपिन्।

डा.तोसिमा कार्की : ललितपुर ३ मा डा. तोसिमा कार्कीले दोस्रोपटक जितिन्। यसपटक उनले ४३ हजार ९६ मत ल्याएर विजेता बनिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार क्षेष्ठले ९४५ मत ल्याए। रास्वपाकी तोसिमाले यसअघि ललितपुर ३ मा जितेर सांसद बनेकी थिइन्।

सोविता गौतम : चितवन ३ मा पनि रास्वपाकै महिला उम्मेदवार सोविता गौतमले जितिन्। उनको प्रतिस्पर्धा नेपाल कम्युनिस्ट पार्टीकी महिला उम्मेदवार रेणु दाहालसँग थियो। सोविताले ५९ हजार २७७ मत ल्याएर निर्वाचित भइन् भने रेणुले जम्मा २० हजार ६१५ मत पाइन्।

सोविता रास्वपाकी केन्द्रीय सदस्य हुन्। यसअघि २०७९ सालमा भएको चुनावमा उनले काठमाडौँ २ बाट जितेकी थिइन्।

गण्डकी प्रदेश

बिना गुरुङ : कास्की ३ मा बिना गुरुङ विजेता बनिन्। रास्वपाकी उम्म्ेदवार गुरुङले उनले ३७ हजार ७५० मत ल्याएर जित हासिल गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७२० मत ल्याए।

सिस्टर्स एसोसिएसन नामक संस्थाका अध्यक्षसमेत रहेकी बिना रास्वपा कास्कीको कोषाध्यक्ष हुन्। उक्त संस्थामार्फत सामाजिक काममा सक्रिय उनले पहिलोपटक चुनाव जितेकी हुन्।

कर्णाली प्रदेश

बासना थापा : नेपाली कांग्रेसका तर्फबाट दैलेख १ मा महिला उम्मेदवार बासना थापाले जितिन्। उनी कांग्रेसबाट जित्ने एकमात्र महिला हुन्। बासनाले १२ हजार ३७२ मत ल्याएर विजेता बनेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याए।

बासनाले पनि पहिलोपटक चुनाव जितेकी हुन्। यसअघि उनी २०७४ सालमा भएको स्थानिय निर्वाचनमा दैलेखको नारायणनगरपालिकाको उपप्रमुखमा परिाजित बनेकी थिइन्। उनी कांग्रेसकी क्रियाशील सदस्य हुन्।

सुदूरपश्चिम प्रदेश

कोमल ज्ञवाली : राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कैलाली १ मा कोमल ज्ञवाली विजेता बनिन्। उनले उक्त क्षेत्रमा १७ हजार ८२६ मत ल्याएर विजेता बनिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत ल्याए।

नागरिक उन्मुक्ति पार्टीबाट रास्वपा प्रवेश गरेकी ज्ञवालीले पनिपहिलो प्रयासमै चुनाव जितेकी हुन्।

यसअघि २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ नौ जना महिला सांसद बनेका थिए। जसमा नेकपा एमालेबाट ज्वालाकुमारी साह, भगवती चौधरी, जुलीकुमारी महतो र विद्या भट्टराई, रास्वपाबाट सोविता गौतम र तोसिमा कार्की, माओवादीबाट रेखा शर्मा, कांग्रेसबाट सीता गुरुङ र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरी थिए। हिमालप्रेसडट्कम

समाचार वर्गहरू