काठमाडौं । निर्वाचन आयोगले सोमबार बिहानसम्म समानुपातिक प्रणालीमध्ये कुल खसेको मतमध्ये झण्डै तीन चौथाइ मतको गणना सम्पन्न गरेको छ । अहिलेसम्मको मतगणना हेर्दा रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपा बाहेक श्रम संस्कृति पार्टीले पनि थ्रेसहोल्ड कटाएका छन् । तर राप्रपा र श्रम संस्कृति पार्टीको थ्रेसहोल्ड भने जोखिममै छ ।
किनभने गणना गर्न बाँकी २५ लाख भन्दा बढी मतमा उनीहरुको अनुपात त्यही कायम हुने कि घट्ने भन्ने टुंगो छैन । गन्न बाँकी मतमा उनीहरुको अनुपात घटेर तीन प्रतिशत भन्दा कम भएमा भने उनीहरु थ्रेसहोल्डको सीमा नकटाएर सीट दाबी गर्न नपाउने अवस्थामा पुग्छन् । करिब ७५ लाख ४० हजार मतगणना सम्पन्न भएकोमा रास्वपाले ३५ लाख ५७ हजार मत पाएको छ ।
जुन करिव साढे ४८ प्रतिशत हो । शुरुको भन्दा मत अनुपात केही घटेकाले उसले ५८ सिट पाउनेछ । कांग्रेसले १२ लाख ३३ हजार मत पाएको हो । २० सिट पाउने उसको मत साढे १६ प्रतिशत हो । एमालेले १० लाख ४३ हजार मत पाएको छ । करिव १४ प्रतिशत मत पाएको उसले १६ सिट पाउने देखिन्छ । नेपाली कम्यूनिष्ट पार्टीको ५ लाख ३५ हजार मत छ ।
करिव सात प्रतिशत मत पाएको नेकपाले ८ सिट पाउने देखिन्छ । राप्रपाले २ लाख ५७ हजार मत पाएको छ । साढे ३ प्रतिशत भन्दा केही कम मत पाएको राप्रपाले ४ सिट पाउने देखिन्छ । श्रम संस्कृति पार्टीको २ लाख ३९ हजार मत छ । तीन प्रतिशतभन्दा कही बढी मत पाएको उसको ४ सिट पाउने देखिन्छ ।
खसेको र सदर मतको अनुपात हेर्दा अन्तिम मतगणना हुँदासम्म ३ लाख १६ हजार जति मत पाउने दल समानुपातिक सूचीका लागि योग्य हुने देखिन्छ । राप्रपा र श्रम संस्कृति पार्टी बाहेक अरुले त्यो सीमा अहिले नै कटाइसकेका छन् ।