रास्वपालाई दुई तिहाइको लागि २ सीट कम, ६ वटा राष्ट्रिय पार्टी

87

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फमा ६ दलले मात्रै थ्रेसहोल्ड कटाएका छन् । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी हावी हुँदा कांग्रेस एमालेसहित अन्य दलहरू खुम्चिएका छन् ।

थ्रेसहोल्ड कटाउनेमा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा रहेका छन् । कुल १ करोड ७ लाख ८५ हजार ८७६ मतमा रास्वपाले ५१ लाख ५७ हजार ९३० (४७.८२ प्रतिशत) मत पायो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२ मत (१६.२८ प्रतिशत) पाउँदा तेस्रो स्थानमा रहेको १४ लाख ५२ हजार ७५८ मत (१३.४७ प्रतिशत) पायो ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ९ हजार ५७७ मत (७.५१ प्रतिशत), पाँचौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ मत (३.५८ प्रतिशत) र छैटौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार २६८ मत (३.०६ प्रतिशत) मत पायो ।

प्रत्यक्षतर्फ रास्वपाले १२५, कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृतिले ३ र राप्रपाले १ ठाउँमा जित निकाल्दा, एक सीट स्वतन्त्रले जितेको छ ।

यो मत परिणाम अनुसार रास्वपालाई दुई तिहाइ पुग्नको लागि दुई सीट कम हुने देखिएको छ । दुई तिहाइ पुग्नको लागि १८४ सीट चाहिन्छ । तर, समानुपातिकतर्फ रास्वपाले पाएको मत अनुसार उसले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४/४ सीट पाउने भएका छन् ।

अब प्रत्यक्ष र समानुपातिक गरी संसद्मा रास्वपाको १८२, कांग्रेसको ३८, एमालेको २५, नेकपाको १७, श्रम संस्कृतिको ७, राप्रपाको ५ र एक स्वतन्त्र सांसद हुनेछन् ।

समाचार वर्गहरू