अपेक्षित परिणाम आएन, जनताको फैसला सम्मानसाथ स्वीकार्छु : एमाले अध्यक्ष ओली

11

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि जनताको मतलाई आफूले सम्मान गर्ने बताएका छन् । उनले बिहीबार सामाजिक सञ्जालबाट मतदाताहरूलाई धन्यवाद दिँदै आफूहरू जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउने उल्लेख गरेका छन् । झापा ५ ओली आफैं पनि पराजित उम्मेदवार हुन् ।

उनको दल एमालेले प्रत्यक्षमा जम्मा ९ सिट मात्र जितेको छ । ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु’ ओलीले भनेका छन् ।

उनले एमालेको पक्षमा मतदान गर्नेहरंलाई धन्यवाद दिएका छन् । ‘तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो। निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन।

तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन’ उनले भनेका छन्,’हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद ।’

समाचार वर्गहरू