कांग्रेस र एमालेले आइतबार समानुपातिक तर्फको नाम आयोगमा बुझाउने

5

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन आयोगमा समानुपातिक तर्फको नाम आइतबार बुझाउने भएको छ। बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्ममा नाम पठाउने गरी छलफल भइरहेको महामन्त्री गुरुराज घिमिरेले बताए। उनका अनुसार अहिलेसम्म पठाउने व्यक्तिको नाम टुङ्गिएको छैन।

उनले भने, ‘क्लस्टर मिलाएर सबैको प्रतिनिधित्व हुने गरी मिलाएर हामीले आयोगमा नाम बुझाउने तयारी गरेको छौँ। भोलि सम्ममा पठाउँछौँ। अहिलेसम्म नाम टुङ्गिएको छैन।’ अहिले आफूहरू समानुपातिकतर्फ आयोगमा बुझाउने नामबारे गृहकार्यमा केन्द्रित रहेको बताए। प्रत्यक्षमा १८ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत ल्याएर ३८ सीट पाएको छ। त्यसैगरि, नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका निर्वाचित सांसदको नाम आइतबार मात्रै पठाउने भएको छ ।

अध्यक्ष केपी शर्मा ओली पितृशोकमा परेपछि पार्टीका सबै नेता पशुपति आर्यघाटमा पुगेका कारण निर्वाचन आयोगले पठाएको पत्र पनि हालसम्म कसैले बुझेको छैन् । एमालेको निर्वाचन समन्वय संयन्त्रका नेता निरज आचार्यका अनुसार पार्टी अध्यक्ष शोकमा परेको अवस्थामा पत्र आएकै रहेछ भने पनि आज र भोलि केही कुरा नहुने, तर आइतबारसम्म पठाउन सकिने अवस्था छ ।

नाम पठाउनुअगाडि नेताहरुले कुनै तहको बैठक वा छलफल गर्नुहोला, त्यसपछि हामीलाई जे निर्देशन आउँछ, त्यही गर्छौँ’, उनले भने । निर्वाचन आयोगले राजनीतिक दलहरुबाट प्राप्त हुने समानुपातिक प्रणालीतर्फका निर्वाचित उम्मेदवारको नामलाई अद्यावधिक गर्दै सम्पूर्ण निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने छ । राष्ट्रपतिले उक्त प्रतिवेदन स्वीकृत गरेपछि शपथको तयारी हुन्छ। एमाले नेता आचार्यले भने, ‘हामी निर्वाचन आयोगको तालिकाभित्रै रहेर काम सम्पन्न गर्नेछौँ ।’

समाचार वर्गहरू