भदौ २३ र २४ को घटनाप्रति नेतृत्वविरुद्धको गलत भाष्यले हाम्रो विपरीत जनमत गयो : एमाले

5

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले आजको सचिवालय बैठकमा चुनावी समीक्षाबारे छलफल नभएको बताएका छन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीलाई शोक परेकाले मुक्त भइसकेपछि मात्रै छलफल हुने बताए। उनले भने, ‘चुनावी समीक्षा हाम्रो पार्टीको जीवनसँग जोडिएको विषयवस्तु भयो। सबैले आ–आफ्नो तहबाट, वडा स्तरबाटै पनि समीक्षा बैठक गरिरहेका छन् र त्यसको रिपोर्ट तयार गरिरहेका छन्। त्यो केन्द्रले अहिले निर्देशन दिनुपर्ने आवश्यकता नै छैन।

कहाँ कति कमीकमजोरी भयो, के–के भयो भन्ने कुरो तलबाटै अहिले त्यो स्वतःस्फूर्त रूपले समीक्षा गरिरहनुभएको मैले पाएको छु।’ उनले भदौ २३ र २४ को घटनालाई पनि ठिक ढङ्गले जनतासमक्ष सम्प्रेषण गर्न नसकेको बताए। उनले थपे, ‘कतिपय हाम्रा कमीकमजोरी पनि रहे।

हामीले गरेका कामलाई पनि तलसम्म जनतासँग पुर्‍याउन सकेनौँ। हामीले भदौ २३ र २४ को घटनालाई पनि ठिक ढङ्गले जनतासमक्ष सम्प्रेषण गर्न सकेनौँ। त्यसको परिणाम अहिले हामीले भोगिरहेका छौँ। त्यसलाई स्वीकारेर जानुपर्छ भन्ने नै भनेको थिएँ, त्यो नै यथार्थ हो भन्ने लाग्छ।’ उनले पार्टी नेतृत्वविरुद्ध भ्रम फैलाएकाले जनमत पार्टीतर्फ नआएको बताए।

उनले भने, ‘भदौका ती घटनाक्रमहरू कसरी घटे, के–के भयो, त्यहाँ पार्टीको भूमिका, नेतृत्वको भूमिका के रह्यो ? हाम्रो पार्टी र नेतृत्वमाथि आक्रमण भएको कुरा यथार्थ कुरो, त्यसका पछाडिको घटनाक्रमहरूलाई हामीले जनताका बीचमा लैजान सकेनौँ। हाम्रो एमालेप्रति र नेतृत्वप्रति एउटा भाष्य खडा भयो।

त्यो भाष्यले हाम्रो विपरीत जनमत गयो भन्ने नै बुझाइ हो।’ उनले आजको बैठकले समानुपातिक सांसद चयन गरेपनि संसदीय दलको नेताबारे कुनै छलफल नभएको बताए।

समाचार वर्गहरू