जनता काम लिएर म कहाँ आइरहेका छन्, जित्ने साथीको अत्तोपत्तो छैन, – महेश बस्नेत

40
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई चुनावी जित–हारले धेरै फरक नपार्ने बताएका छन् । शनिबार पत्रकारसँग कुराकानी गर्दै बस्नेतले आफू चुनाव जित्छु भनेर एमालेमा नलागेको दाबी गर्दै यस्तो बताएका हुन् ।

‘निर्वाचनमा म हार र जितलाई धेरै असामान्य ढंगले हेर्दिनँ,’ सचिव बस्नेतले भने । २०५४ मा आफू गाउँ विकास समितिको अध्यक्ष उठ्दा एमाले चौथो पार्टी रहेको उनले स्मरण गरे । ‘कांग्रेस पहिलो, रास्वपा दोस्रो, नेमकिपा तेस्रो थियो । एमाले चौथो थियो । म आफू जित्न लागेको भए त्यति बेलै एमाले रोज्ने थिएन,’ उनले भने ।

आफूले गाविस अध्यक्ष र सांसद हुँदा भक्तपुर–२ मा गरेको काममा गौरव गर्ने सचिव बस्नेतले बताए । उनले भने, ‘यो कुरा यहाँका आम मतदाता र जनताले महेश बस्नेतले गरेको काम भन्नु नै हुन्छ । परिस्थितिवश अघिल्लो र यो चुनाव म हारेँ ।’ व्यक्तिगत रूपमा आफूलाई हारजितले कुनै असर नगर्ने उनले बताए ।

बस्नेतले भने, ‘अहिले पराजित हुँदा पनि जनता काम लिएर मकहाँ नै आइरहेका छन् । निर्वाचित साथीहरूको अत्तोपत्तो छैन । चुनाव पो तपाईँले हार्नुभयो त, काम तपाईँले नै गर्ने हो नि भन्ने मनोविज्ञान छ ।’

समाचार वर्गहरू