गगन थापा हारेकोमा प्रधानमन्त्री कार्की छक्क

106

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा चुनावमा पराजित भएकोमा छक्क परेकी छन्। निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली पराजित हुने लागे पनि थापा भने जित्नेजस्तो आफूलाई लागेको उनले निकटस्थहरूलाई बताएकी छिन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केही सम्पादकहरूसँगको संक्षिप्त भेटमा समेत कार्कीले आफ्नो विश्लेषण सुनाइन्। त्यसअघि प्रधानमन्त्री सचिवालय टिम र आफू निकटस्थहरूलाई पनि प्रधानमन्त्री कार्कीले कांग्रेस सभापति थापा पराजय होलान् जस्तो आफूलाई नलागेको सुनाएकी थिइन्।

‘गगन त हार्नु नपर्ने हो। निकै मेहनत गरेको देखिन्थ्यो। तर, मतदाताले व्यक्ति नै हेरेनन्। खुरुखुरु घण्टीलाई भोट हालेछन्, भेट्मा उनले सम्पादकहरूसँग सुनाएको प्रसंग राख्दै बालुवाटार स्रोतले अन्नपूर्णलाई बतायो।

केही सीमित सम्पादकहरू मात्र बालुवाटारमा बोलाइएको थियो। त्यहाँ प्रधानमन्त्रीका सचिवालय सदस्यसमेत थिए। एमाले अध्यक्ष ओलीलाई भने आफूले पनि तपाईं झापा–५ बाट जित्नुहुन्छ भनेर पहिले नै भनेको पनि उनले बताएको प्रसंग त्यहाँ उठेको थियो। ‘माहोल हेर्दा त्यहाँ ओलीले जित्लान जस्तो लागेको र तपाईंले जित्नुहुन्छ भनेर मैले ओलीलाई भनेको थिएँ। ओलीले पनि आफू जित्छु नै भनेका थिए। तर, बालेनले जिते। उनी राम्रा मान्छे हुन्। जितेर आएका छन्। अब सबैले सहयोग गर्नुपर्छ, प्रधानमन्त्री कार्कीको ब्रिफिङ उदृत गर्दै सचिवालयका एक सदस्यले जानकारी दिए।

ओली आफू जित्नेमा ढुक्क नबनाइएको भए चुनावमा सजिलै सहभागी हुन तयार नभएको पनि त्यसक्रममा जानकारी गराइएको थियो। स्रोतहरूका अनुसार झापा–५ बाट नेपाली सेना र प्रहरीको गोप्य रिपोर्टमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह कम्तीमा ५० हजार मतसहित विजय हुने उल्लेख गरिएको थियो। र, त्यो रिपोर्ट प्रधानमन्त्री कार्कीसमक्ष चुनावको मिति फागुन २१ भन्दा एक साताअघि नै बुझाइएको थियो। तर, ओलीलाई भने फरक विवरण सुनाइएको थियो।

आफू हार्ने चुनावमा ओली कसरी सहभागी भए ? भन्ने सम्पादकहरूको जिज्ञासामा प्रधानमन्त्री कार्कीले भनेकी थिइन्– ‘ओलीलाई हार्दै छौं भने त कसरी चुनाव हुन सक्थ्यो र ? जित्दै हुनुहुन्छ भन्ने नै रिपोर्ट भयो नि ! तर, बालेन राम्रा छन्। उनले राम्रो काम गर्न सक्छन्।’

झन्डै २ घण्टाको बसाईमा कार्कीले सर्लाही–४ बाट भने कांग्रेसका थापाको पराजय आफूले नसोचेको र परिणामले छक्क पारेको सुनाएकी थिइन्। चुनावका बेलासमेत उनले कांग्रेस सभापति थापा भने ५ हजार मतले जित्ने आफूलाई लागेको निकटस्थहरूलाई सुनाउँदै आएकी थिइन्। अन्नपुर्णपोष्ट

समाचार वर्गहरू