राजस्व अनुसन्धान बिभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

7

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा राजस्व अनुसन्धान बिभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीसहित ३ जनाबिरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्वन्धी छानबिन तथा राजस्व चुहावट सम्बन्धी अन्य कसुरबाट बच्नका लागि सहजीकरण वापत ७० लाख लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

अधिकारीले विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँगको सल्लाह तथा मिलेमतोमा उनीहरूको खाता रहेको ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैक तथा वित्तीय संस्थामा रकम दाखिला गराई तहिकरण गरी घुस लिएर उक्त रकमकोस्वरूप परिवर्तन गरी गराई भक्तपुर, थिमी नगरपालिका वडा नम्बर २ मा ५ आना २.५९ दाम क्षेत्रफलको जग्गा खरिद गरेको उल्लेख छ ।

अख्तियारको आरोपपत्र :अख्तियारको आरोपपत्र

मध्यपुर थिमी नगरपालिकाको साविक वडा नं १७ (हाल वडा नं २) स्थित दिव्यश्वरी आयोजनाभित्रको उक्त कित्ता नं ९९८ जग्गा खरिद तथा देवेन्द्र केसी समेत संचालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा प्रयोग प्रचलनमा ल्याएको तथ्य पुष्टि भएको देखिएकाले मुद्दा दर्ता गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले पूर्वमहानिर्देशक अधिकारीसँग भ्रष्टाचार मुद्दामा ७० लाख र सम्पत्ति शुद्धीकरणमा थप ७० लाख गरी १ करोड ४० लाख बिगो मागदाबी गरेको छ । द कुटी रिसोर्टका म्यानेजिङ डाइरेक्टर देवेन्द्र केसीलाई भ्रष्टाचारमा २० लाख र सम्पत्ति शुद्धीकरणमा अर्को २० लाख गरी ४० लाख बिगो माग गरेको छ । रबिन्द्र लामिछानेसँग भ्रष्टाचारमा ५० लाख र सम्पत्ति शुद्धीकरणमा ५० लाख गरी १ करोड बिगो दाबी गरेको छ ।

समाचार वर्गहरू