पुराना नेता र दलको त्याग नभुल्न रास्वपा सभापति रबी लामिछानेको सांसदलाई निर्देशन

8

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २ तिहाइनजिकको जितले आफूहरू आशा र अपेक्षाको दीयो बाल्न सफल भएको भन्दै यसलाई निभ्न नदिन सांसदहरूलाई निर्देशन दिएका छन् । लोकतान्त्रिक पद्धति र वर्तमान व्यवस्था र संविधानप्रति प्रतिबद्धता जनाउँदै उनले शासकीय स्वरूपमा केही सुधार चाहिएको हेक्का रहेको उनले बताएका छन् ।

ललितपुरको ग्वार्कोमा सांसदहरूको अभिमुखीकरणमा समापन सम्बोधनसहित निर्देशन दिँदै लामिछानेले रास्वपा र समर्थक अराजक र असहिष्णु छन् भन्ने छवि बनेकोले त्यसबाट बाहिर निस्कनुपर्ने बताएका छन् । उनले अन्य राजनीतिक दल र विपक्षीप्रति कटाक्ष नगर्न र पुराना दल र नेताको त्याग, तपस्या साथै योगदानको नजरअन्दाज नगर्न निर्देशन दिए ।

रविले भने, ‘इतिहास रच्नमा एउटा मान्छे वा एउटा पार्टीको हात हुँदैन । पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनुभएको छ । उहाँहरूका कैयौं व्यथितिहरू प्रति हाम्रो प्रश्न हो, तर उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने हक हामी कसैलाई पनि छैन । इतिहास तपाईंले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ ।’

अभिमुखीकरण कार्यक्रममा रविले यसो भने :-

हाम्रा अभिव्यक्तिहरूमा कुनै पनि राजनीतिक दल र विपक्षीहरू प्रति कटाक्ष भयो भने त्यो अनर्थ हुन जानेछ । विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु होइन । विजेता हुनुको अर्थ विपक्षीहरूलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन । रास्वपालाई प्रायः अराजक छन्, समर्थकहरू असहिष्णु छन् भन्ने छवि बनेको छ । अब त्यसबाट बाहिर निस्कनुपर्छ ।

सम्पूर्ण रास्वपा समर्थक साथीहरूलाई म जिम्मेवार भएर अभिव्यक्त हुन, सामाजिक सञ्जालहरूमा जिम्मेवार भएर प्रस्तुत हुन अनुरोध गर्दछु । यो रास्वपाले जितेको होइन, देशले जितेको हो । अति संवेदनशील समयमा, धेरै मेहेनत गर्नुपर्ने समयमा हामी उभिएको हुनाले मेहेनतका साथ अगाडि बढ्न अनुरोध गर्दछु ।

समाचार वर्गहरू