गगनको राजीनामा अस्वीकृत हुन्छ : विश्वप्रकाश शर्मा

90
फाइल फोटो

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत हुने संकेत गरेका छन्। शर्माले केन्द्रीय समिति बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत हुने संकेत गरेका हुन्।

कांग्रेसले शुक्रबार बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको छ। केन्द्रीय समिति बैठक आह्वान भएलगत्तै सभापति थापाले चुनावमा पार्टीले भोगेको पराजयको नैतिक जिम्मेवारी लिँदै उपसभापति शर्मालाई राजीनामा बुझाएको सार्वजनिक भएको थियो।

थापाले सभापति पदबाट राजीनामा दिएपछि मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्। कतिपयले थापाको यो कदमको प्रशंसा गरेका छन् भने कतिपयले अहिले राजीनामा दिने समय नभएको जिकिर गरेका छन्।

उपसभापति शर्माले नैतिक जिम्मेवारी लिन्छु भन्ने सकारात्मक भए पनि प्रधान नैतिक दायित्व स्थिति सम्हालने रहेको  बताएका छन्। ‘‘नैतिक जिम्मा लिन्छु’ भन्नू सकारात्मक। तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो,’ उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

उनले केन्द्रीय समिति बैठकमा राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुनेसमेत बताएका छन्। शर्माले भनेका छन्,‘बैठकमा प्रारम्भिक समीक्षा, राजीनामापत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुनेछ।’

‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन,’ शर्माले भनेका छन्।

समाचार वर्गहरू