निर्वाचनको परिणाम नेपालको लागि अनपेक्षित परिणाम हो – युवराज दुलाल

126

काठमाडौं । नेकपाका सांसद युवराज दुलालले हालै सम्पन्न निर्वाचनको अनपेक्षित परिणामले देशको राजनीतिक परिस्थिति नयाँ मोडमा पुगेको बताएका छन्।

काठमाडाैंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै यसपटकको निर्वाचन परिणाम सबैको अनुमानभन्दा बाहिर भएको बताए।

उनले भने, ‘देशको परिस्थिति अलि फरक भएको छ। देशमा सबैले अनुमान गरेको भन्दा फरक, हामी यसलाई अनपेक्षित पनि भन्न सक्छौँ, अहिलेको निर्वाचनको परिणाम भनेको नेपालको लागि अनपेक्षित परिणाम हो। अनपेक्षित परिणाम आइसकेपछि अबको राजनीति कसरी अगाडि बढ्छ भन्ने जिज्ञासा सर्वत्र छ।’

समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीमा उल्लेखनीय मत एकै दलतर्फ गएको उल्लेख गर्दै दुलालले यसलाई बहुदलीय प्रजातन्त्रपछिको नेपालको इतिहासमै नयाँ घटना बताए।

उनले थपे, ‘एउटा हिसाबले नेपाली जनताले भोट फर चेन्ज, एकपटक चेन्ज गरौँ, पात्र चेन्ज गरौँ भन्ने हिसाबमा सिङ्गो देश गयो। हामीले जुन एउटा माहोल बन्यो, एउटा हावा चल्यो अथवा एउटा सुनामी आयो भन्छौँ, त्यो कुनै विचार, सिद्धान्त, आदर्शमा चलेको भन्दा पनि नेपालको राजनीतिमा शासन गर्ने पात्रहरूलाई परिवर्तन गरौँ एकपटक भन्ने देश भित्र र देश बाहिर त्यो खालको माहोल र वातावरण बन्यो। त्यसले क्लिक गरेपछि परिणाम चेन्ज भयो। झन्डै ५० प्रतिशतको हाराहारीमा हामीले देख्यौँ, समानुपातिक मत नै एउटा पार्टीतिर गयो। र झन्डै प्रत्यक्षमै त्यति नै मत एउटा पार्टीले अहिले प्राप्त गरेको छ।’

अहिले जनताले अभिव्यक्त गरेको जनमतलाई स्वीकार गरेर अगाडि जानुपर्ने बताए।

उनले भने, ‘जुन राजनीतिक दलले अहिले सरकार सञ्चालन गर्ने म्यान्डेट अथवा जनादेश पाएको छ, त्यो जनादेशलाई पनि हामीले स्वीकार गर्नुपर्छ र हामीले शुभकामना दिनुपर्छ। तर सँगै उसका गतिविधिमाथि सूक्ष्म निगरानी राखेर खबरदारी गर भन्ने म्यान्डेट हामीलाई जनताले दिएकोले सो म्यान्डेटलाई हामीले इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ।’

समाचार वर्गहरू