भारतीय प्रधानमन्त्री मोदी र इरानका राष्ट्रपति मसूदबीच टेलिफोन वार्ता

8

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार इरानका राष्ट्रपति मसूद पेजेश्कियानसँग टेलिफोन वार्ता गरेका छन्। वार्तापछि उनले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै मध्यपूर्वमा भइरहेका ‘महत्वपूर्ण ऊर्जा संरचनामाथिका आक्रमण’को निन्दा गरेको र त्यसले विश्वव्यापी तेल आपूर्तिमा असर परेको बताएका छन्।

सोही दिन संयुक्त अरब इमिरेट्स (यूएई) को विदेश मन्त्रालयले स्ट्रेट अफ होर्मुजमा व्यापारिक जहाजमाथि भएका इरानी आक्रमणको निन्दा गर्दै २२ देशको संयुक्त वक्तव्य जारी गरेको थियो। उक्त वक्तव्यमा भारत सहभागी थिएन, जसलाई भारतले इरानको प्रत्यक्ष आलोचना नगरेको संकेतका रूपमा हेरिएको छ।

यसअघि भने मोदीले खाडी क्षेत्रका विभिन्न नेतासँग कुरा गर्दै इरानी हमलाको आलोचना गरेका थिए। उनले २ मार्चमा इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूसँग पनि वार्ता गरी क्षेत्रीय शान्ति र स्थिरतामा जोड दिएका थिए।

शनिबारको वार्तामा मोदीले पेजेश्कियानलाई ईद र नवरोजको शुभकामना दिँदै ‘पर्वले पश्चिम एसियामा शान्ति, स्थिरता र समृद्धि ल्याओस्’ भन्ने आशा व्यक्त गरेका थिए। साथै उनले क्षेत्रीय आधारभूत संरचनामाथि भइरहेका आक्रमणको निन्दा गर्दै समुद्री यातायात सुरक्षित रहनु र शिपिङ लेन खुला राख्नुपर्नेमा जोड दिएका थिए।

यो वार्ता इरान–सम्बन्धी तनाव सुरु भएयता मोदी र पेजेश्कियानबीच भएको दोस्रो संवाद हो। यसअघि १२ मार्चमा भएको वार्तामा मोदीले तनावप्रति चिन्ता व्यक्त गर्दै सबै विवाद कूटनीति र संवादबाट समाधान गर्नुपर्ने बताएका थिए।

भारतस्थित इरानी दूतावासले पनि वार्ताबारे जानकारी दिँदै पेजेश्कियानले इरानले युद्ध सुरु नगरेको दाबी गरेको जनाएको छ। उनले निर्दोष नागरिकहरू मारिएको उल्लेख गर्दै अमेरिका र इजरायलले आक्रमण रोक्नुपर्ने बताएका थिए। पेजेश्कियानले ब्रिक्समा भारतको भूमिकाको उल्लेख गर्दै क्षेत्रीय र विश्व शान्तिका लागि स्वतन्त्र पहल गर्न आग्रह गरेका थिए।

समाचार वर्गहरू