पानी, जलवायु परिवर्तन र लैङ्गिक समानतामा ५ बुँदे प्रतिबद्धता

8

काठमाडौं । विश्व पानी दिवसको अवसरमा नेपालगन्जमा आयोजित ‘लिक्विड हार्मोनी’ छलफलको दोस्रो संस्करण जलवायु परिवर्तन, पानी र लैङ्गिक समानताका विषयमा ५ बुँदे प्रतिबद्धता जारी गर्दै सम्पन्न भएको छ।

इश्वरी युनाइटेड प्रालिको आयोजना तथा सोसियो इकोनोमिक एण्ड एजुकेशनल डेभलपमेन्ट सोसाइटी (सिड्स) को सहआयोजनामा आइतबार सम्पन्न उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र आयोजक संस्थाले संयुक्त रूपमा प्रतिबद्धता जाहेर गरेको बताइएको छ ।

सो कार्यक्रममा “जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ” भन्ने मूल नारासहित जलवायु परिवर्तन र पानीमा वातावरणीय प्रभावका विषयमा विज्ञ, स्थानीय तहका प्रतिनिधि तथा समुदायका सरोकारवालाबीच विस्तृत छलफल गरिएको बताइएको छ ।

“पानी र लैङ्गिकताः महिला र बालिकालाई केन्द्रमा राख्दै” शीर्षकको सत्रमा पानी व्यवस्थापनमा महिलाको भूमिका र उनीहरूले भोग्नुपरेका चुनौतीहरूबारे गहन छलफल भएको थियो। वक्ताहरूले दीर्घकालीन दिगोपनाका लागि महिलाको सशक्तीकरण र निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नगरवासीलाई सुरक्षित पानी उपलब्ध गराउन स्थानीय तह निरन्तर प्रयासरत रहेको बताउँदै सुरक्षित पानी आपूर्तिमा प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

जलश्रोत विज्ञ डा. गंगादत्त नेपालले पानीलाई जलवायु सहनशीलताको केन्द्रका रूपमा व्याख्या गर्दै समावेशी र नवीन उपाय मार्फत स्रोत संरक्षण र व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका छन ।

उनले दूषित पानीकै कारण उपभोक्ताले समस्या भोगिरहेको उल्लेख गर्दै सुरक्षित पानीको सुनिश्चितता अत्यावश्यक रहेको बताएका छन् । उनले नेपालले सन् २०३० सम्म ९० प्रतिशत जनसंख्यामा सुरक्षित पानी पुर्‍याउने लक्ष्य राखे पनि हाल करिब ४७ प्रतिशत जनसंख्याले सुरक्षित पानी प्राप्त गरिरहेको अवस्था रहेको बताएका छन् ।

सो कार्यक्रममा खजुरा गाउँपालिकाकी उपप्रमुख मञ्जु मल्लले सुरक्षित पानी महिला र किशोरीसम्म पुर्‍याउने प्रयास भइरहेको जानकारी दिँदै खानेपानी उपभोक्ता समितिमा महिला नेतृत्वको अभाव रहेको यथार्थ औंल्याएकी थिइन ।

त्यस्तै, वातावरण इन्जिनियर प्रकाश डीसीले नेपालगन्जमा फोहोर व्यवस्थापन, जनघनत्व वृद्धि र अव्यवस्थित शहरीकरणका कारण पानी व्यवस्थापन चुनौतीपूर्ण बनेको बताएका छन् । उनले स्रोत अभावका बाबजुद स्थानीय सरकार विभिन्न निकायसँग सहकार्य गर्दै काम गरिरहेको जानकारी दिएका छन् ।

महिला उद्यमी रेवती सिंहले सुरक्षित पानीको अभावले महिलाको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको बताउँदै पानीलाई समानताको प्रतीकका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेकी छिन् । पूर्व लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी नमुनाले अनियमित वर्षा र पानीका मुहान हराउँदै गएको कारण जनजीवन प्रभावित भइरहेको उल्लेख गरेकिछिन् ।

अर्का विज्ञ रमेश गौतमले विश्वका कुल पानी मध्ये १ दशमलव ६ प्रतिशत मात्र प्रयोगयोग्य रहेको उल्लेख गर्दै पानी स्रोतको संरक्षण र पुनःभरणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् । कार्यक्रम अन्तर्गत दुई वटा सत्र सञ्चालन गरिएको थियो।

पहिलो सत्रमा पानी र लैङ्गिकता विषयमा केन्द्रित छलफल भएको थियो भने दोस्रो सत्रमा जलवायु परिवर्तन, वातावरण र पानीको सम्बन्धमा बहस गरिएको थियो। सहभागीहरूले समुदायमा आधारित समाधान, सुरक्षित पानीको गुणस्तर मापन प्रणाली, जलाधार संरक्षण, तथा लैङ्गिक उत्तरदायी जलवायु नीतिको आवश्यकतामा जोड दिएका थिएका छन्।

सो कार्यक्रमा गरिएको ५ बुँदे प्रतिबद्धता

१) स्थानीय स्तरमा रहेका पानीका मुहान (ताल, तलैया) संरक्षण गर्ने
२) भू–उपयोग नीति तथा कानुन कार्यान्वयन गर्ने
३) खानेपानी आयोजनाहरूलाई व्यवस्थित गर्ने
४) वृक्षरोपण तथा वातावरण संरक्षण कार्यक्रमलाई नियमित रूपमा अघि बढाउने
५) सुरक्षित पानीको उपलब्धता र महिलाको पहुँचलाई सहज बनाउने

समाचार वर्गहरू