रवि लामिछानेविरुद्ध उजुरीकर्ता नै सहकारी ठगीको आरोपमा पक्राउ

64

काठमाडौं – सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध उजुरी दिएका व्यक्ति पनि सहकारी ठगीको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमबार पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा कृष्णप्रसाद जैसीलाई पक्राउ गरेको हो। उनलाई पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले बताए।

धनुष सहकारी ठगी प्रकरणमा गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी परेको थियो। आइतबार सहकारी रजिस्ट्रारको कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको आधारमा छानबिनका क्रममा जैसीलाई पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए।

गत वर्ष धनुष सहकारीमा भएको ठगीबारे छानबिन भएको थियो। त्यतिवेला १९ करोड १८ लाख रुपैयाँ हिनामिना भएको पाइएको थियो। बचत हिनामिनासम्बन्धी प्रतिवेदन सहकारी रजिस्ट्रारको कार्यालयमा पेश भएको थियो।

त्यही प्रतिवेदनका आधारमा सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीलाई पत्राचार गरेको हो। त्यसका आधारमा जैसी पक्राउ परेका छन् भने अन्य चार जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको छ।

सहकारी ठगीमा पक्राउ परेका कृष्णप्रसादले पोखराकै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा आफ्नो बचत रकम हिनामिना भएको भन्दै पीडितका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, सहकारीका सञ्चालक एवं ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जिबी राई लगायत विरूद्ध जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा ग्यालेक्सी टेलिभिजनका पूर्वप्रबन्ध निर्देशक समेत रहेका रवि, सञ्चालक जिबी लगायत विरूद्ध एक अर्ब ५१ करोड रूपैयाँ हिनामिना मुद्दा अदालतमा विचाराधीन छ।

समाचार वर्गहरू