छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

79

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको घटनासँग सम्बन्धित आरोपमा पक्राउ परेका काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ।

मंगलबार उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे सोधपुछ गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार रिजाललाई आवश्यक पर्दा उपस्थित हुने शर्तमा रिहा गरिएको हो। जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन सीडीओ छवि रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।

भदौ २३ र २४ गते भएको प्रदर्शनका बेला उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए। बानेश्वरमा प्रदर्शनका क्रममा गोली चलाउन आदेश दिएको आरोपमा रिजालको तीव्र आलोचना हुँदै आएको छ। तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगसमक्ष उनले घातक हतियार प्रयोग गर्ने आदेश आफूले नदिएको बयान दिएका छन्। यसैबीच, कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई यसअघि नै पक्राउ गरिएको थियो।

समाचार वर्गहरू