बागमतीमा १३ मन्त्रालयबाट घटाएर ७ मा झार्ने, सभामुखमा दाबी गर्ने काँग्रेसको निर्णय

68

काठमाडौं । नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलले १३ वटा मन्त्रालयको संख्या घटाएर ७ मा झार्न सत्ता साझेदार दलसँग छलफल अगाडि बढाउने भएको छ ।

मंगलबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले मन्त्रालयको संख्या, निर्देशनालयको संख्या कटौती गरी कर्मचारीहरूको संख्यामा पनि ह्वात्तै कटौती गर्ने निर्णय गरेको सचिव मीनकृष्ण महर्जनले बताए ।

मन्त्रालय कटौतीका विषयमा सत्ता साझेदार दलका साथै संसदमा रहेका अन्य दलहरूसँग पनि कांग्रेसले छलफल गर्नेछ । छलफलका क्रममा आवश्यक पर्दा मन्त्रालय, निर्देशनालय र कर्मचारीहरूको संख्या अझै कटौति गर्ने सहमति बनेमा त्यो निर्णय पनि गर्ने कांग्रेसले आन्तरिक तयारी गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिले बुझाएको मस्यौदामा हाल रहेको १३ वटा मन्त्रालयलाई ७ मन्त्रालयमा सीमित राख्ने र ७ वटा निर्देशनालयलाई २ वटामा सीमित राखी ५ वटा खारेज गर्नुका साथै हाल कायम रहेका कर्मचारी दरबन्दीमध्ये ७०१ जना कर्मचारी कटौती गर्ने मस्यौदालाई सरकारमा सहभागी २ दलको आपसी छलफल गरी पारित गर्नतर्फ अघि बढ्न सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।’

कांग्रेसले एक हप्ताभित्र प्रदेशसभा बैठक सञ्चालन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने पनि निर्णय गरेको संसदीय दलका सचिव महर्जनले बताए ।

मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले बागमती प्रदेश सभा सभामुख पदमा नेपाली कांग्रेसले दाबी गर्ने निर्णय गरेको छ ।

कांग्रेसभित्रको आन्तरिक समस्यालाई आपसी सहमति र संवादमार्फत छिट्टै समाधानतर्फ अगाडि बढी पार्टीलाई १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनको सन्देश दिनलाई दुवै पक्षलाई आग्रह गर्ने निर्णय भएको सचिव महर्जनले बताए ।

समाचार वर्गहरू