सम्पत्ति शुद्धीकरण विभागको बदमासी : जगदम्बा स्टिल र इन्फिनिटी होल्डिङसलाई उन्मुक्ती

8

काठमाडौँ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले इन्फिनिटी होल्डिङस र जगदम्बा स्टिलबीच भएको ४५ करोडको शंकास्पद कारोबारबारे छानबिन गर्न पठाएको फाइल राष्ट्र बैंकमै फर्काएको सम्पत्ति शुद्धीकरण विभागले अन्ततः यसमा जोडिएका बदनाम व्यवसायी दीपक भट्ट विरुद्ध अनुसन्धान सुरु गरेको छ। दीपक भट्टसँगै वित्तीय इकाइले उनको दाजु तथा लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट र जगदम्बा स्टिल विरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न पत्र पठाएको थियो।

सो पत्रमा भट्टको नाममा हिमालय रिइन्स्योरेन्समा भएको लगानी समेत शंकास्पद रहेको भन्दै छानबिन गर्न भनेको थियो। तर विभागले सो विषय विभागको कार्यक्षेत्र भित्रको नभएको भन्दै नेपाल राष्ट्र बैंकलाई नै छानबिन गर्न भन्दै पत्र पठाएको थियो। नेपाली कांग्रेस होस् या एमाले वा माओवादी प्राय सबै दलका शीर्षस्थ नेताहरूसँग निकट सम्बन्ध रहेका भट्टविरुद्ध अनुसन्धान गर्न पर्याप्त प्रमाण भए पनि विभागले हिम्मत गरेको थिएन।

फागुन २१ को निर्वाचनसँगै नयाँ जनादेश आयो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाह प्रधानमन्त्री बने। अनि बल्ल मंगलबार विभागले भट्ट विरुद्ध आफैँले राष्ट्र बैंकमा फर्काएको फाइल अनुसार सम्पत्ति शुद्धीकरण अनुसारको अनुसन्धान सुरु गर्दै उनको राहदानी रोक्का गराएको छ। मंगलबार विभागले भट्टमाथि सुरु भएको अनुसन्धानबारे खुलाउँदै उनी भाग्न सक्ने भन्दै उनको पासपोर्ट रोक्का राख्न अध्यागमन विभागमा पत्राचार गरेपछि विभागले उनको राहदानी रोक्का राखेको छ।

तर यो प्रकरणमा जोडिएको दीपक भट्ट मात्रै हैनन्, उनको दाइ सुशीलसँगै अर्को व्यापारिक घराना शंकर ग्रुप समेत जोडिएको छ। राष्ट्र बैंकको गोप्य अनुसन्धान प्रतिवेदन अनुसार पत्रमा प्रस्ट दीपकसँगै सुशील र जगदम्बा स्टिल विरुद्ध समेत अनुसन्धान गर्न भनेको छ। यसमा जगदम्बा स्टिल्सका अध्यक्ष शंकरलाल अग्रवाल समेत प्रत्यक्ष जोडिएका छन्।

शंकर समूहमा साहिल अग्रवाल र सुलभ अग्रवाल समेत जोडिन्छन्। तर अहिले दीपकमाथि मात्रै अनुसन्धान केन्द्रित भएको देखिन्छ। नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइको छानबिन प्रतिवेदनमा इन्फिनिटी होल्डिङ्स को २०० ७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा चुक्ता पुजी ३ करोडबाट ४८ करोड बनेको र यो अस्वाभाविक वृद्धि रहेको उल्लेख छ। यसरी पुजी बृद्धीहुँदा स्रोत खुल्ने स्पष्ट आधार देखिएन।

त्यसमा दीपक भट्टको व्यक्तिगत खातामा जगदम्बा स्टिलको खाताबाट ४५ करोड रकम रकमान्तर भएको र सो रकम भट्टको व्यक्तिगत खाताबाट इन्फिनिटी होल्डिङको खातामा रकमान्तर भएको खुल्यो। सो रकम कुन प्रयोजनका लागि जम्मा भएको त्यो भने खुलेन। तर त्यसको वास्तविक धनी समेत खुलेन। जगदम्बाले केको आधारमा दीपक भट्टलाई ४५ करोड दिएको त्यो पनि खुलेन।

वित्तीय इकाइले भट्ट र जगदम्बाबीचको औपचारिक सम्बन्धबारे समेत अनुसन्धान गरेको देखिन्छ। औपचारिक सम्बन्ध पनि खुलेन। त्यसपछि अनुसन्धान हिमालय रिइन्योरेन्स केन्द्रित भयो। त्यसमा रहेको भट्टको लगानी र त्यसको स्रोतबारे अनुसन्धान गर्दा लगानीको स्पष्ट आधार समेत खुलेन। लगानीको वास्तविक धनी समेत स्पष्ट नभएको भन्दै वित्तीय इकाइले त्यसको छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गर्यो।

त्यसको आधारमा रूपमा हिमालयन रीइन्योरेन्स र इन्फिनिटी होल्डिङस्बीच भएको ४५ करोड कारोबार कानुन सम्बन्ध नदेखिएको, जगदम्बाबाट भट्टको खातामा ४५ करोड गए पनि जगदम्बा स्टिलको आर्थिक वर्ष २०७७/०७८ को वित्तीय विवरणमा त्यसबारे केही उल्लेख थिएन। यही आधारमा टेक्दै राष्ट्र बैंकले सबै विवरण र प्रमाणहरू सम्पत्ति शुद्धीकरण विभागमा पठाएको थियो।

तर २०८२ वैशाख २१ गते सम्पत्ति शुद्धीकरण विभागले सो विवरणका आधारमा सम्पत्ति शुद्धीकरणमा भन्दा पनि बैंकिङ कसुर ऐन अनुसार कार्वाही गर्नुपर्ने देखिएको तर्क गर्दै उतै पत्र पठाइदियो। त्यसपछि यो अनुसन्धान त्यसै अलपत्र परेको थियो भन्दै उकेराले समाचार प्रकाशन गरेको छ ।

समाचार वर्गहरू