नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुद्वारा शपथ ग्रहण

8

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले शपथ लिएका छन् । सोमबार महासंघको केन्द्रीय कार्यालय अनामनगरमा अध्यक्षसहितका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । महासंघको गरिमालाई उच्च राख्दै निर्माण क्षेत्रको विकास र व्यवसायीहरूको हकहितका लागि प्रतिवद्ध भएर लाग्ने उनीहरुको भनाइ रहेको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

शपथ ग्रहण कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरू, विभिन्न जिल्ला तथा प्रदेशका व्यवसायीहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।नवनिर्वाचित कार्यसमितिले सोमबारदेखिनै आफ्नो कार्यभार सम्हालेको महासंघले जनाएको छ । निर्माण क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरू, भुक्तानीको समस्या र नीतिगत सुधारका विषयमा नयाँ कार्यसमितिले प्राथमिकताका साथ काम गर्ने अपेक्षा गरिएको छ ।

महासंघको १३ औं अधिवेशनले निर्माण व्यवसायीहरूका बीचमा एकता र सहकार्यको नयाँ सन्देश दिएको व्यवसायीहरूको भनाइ रहेको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् ।

महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । कोशी प्रदेश उपाध्यक्ष धिरेन्द्र दाहाल, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भएका छन् ।

नीतिगत उपमहासचिवमा मंगलबहादुर शाही विजयी भएका छन् भने आन्तरिक उपमहासचिवमा सन्तोष साह विजयी भएका छन् । महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल विजयी भएकी छन् भने कोषाध्यक्षमा उज्वल गौतम विजयी हुँदा सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन् ।

समाचार वर्गहरू