काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनको समयमा जान्नेलाई छान्ने, नाताबाद र कृपावादलाई नियन्त्रण गर्ने भन्दै गरेको प्रतिबद्धताकै विपरित रास्वपा सरकार सञ्चालन भएको पछिल्ला घटनाबाट पुष्टी भएको छ ।
यसैक्रममा, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिएको विषय विवादमा परेपछि श्रेष्ठले प्रष्टीकरण दिएकी छन् । मन्त्री पत्नी जुनुले सोमबार बिहान फेसबुक स्ट्याटसमा स्पष्टीकरण दिँदै बीमा बोर्डमा मनोनयनसम्बन्धी कुनै पनि पत्र आफूले नबुझेको बताएकी छन् ।
यसअघि पनि बोर्डमा रहेकी जुनु लगातार बैठकमा अनुपस्थित भएपछि स्वतः निलम्बनमा परेकी थिइन् । निलम्बनमा परेकी जुनु साह श्रेष्ठलाई पुनः सोही पदमा नियुक्त गरेपछि रास्वपाले उठाएको परिवारवाद र मेरिटको कुरामाथि प्रश्न उठेको थियो ।
जुनुको पछिल्लो नियुक्ति २०८० मंसिर १४ गते भएको थियो । उनले बीमित सदस्यको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्दै आएकी थिइन् । पछिल्लो समय केही बैठकमा लगातार अनुपस्थित भएपछि उनी स्वतः निलम्बनमा परेकी थिइन् । अहिले पुनः उनलाई सदस्यका रुपमा नियुक्ति दिएको नभई सदस्यका रूपमा बैठकमा निरन्तरतामात्र गराइएको दाबी स्वास्थ्यमन्त्रीको सचिवालयको छ ।