काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले सत्ता सम्हालेको १३ औं दिन विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग संयुक्त भेट गरेका छन् । यसबाट यसअघि हुने छुट्टाछुट्टै भेटघाटको क्रमभंगता भएको सरकारको दावी छ । हिजो परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बालेन्द्र सरकारका मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताको पालना सम्बन्धी ब्रिफिङ (क्लास) दिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा सबै मन्त्रीहरूको सहभागिता थियो ।
उनीहरुलाई काठमाडौंस्थित राजदूत, कूटनीतिक नियोगका अधिकारी तथा अन्तर्राष्ट्रिय संघ–संस्थाका प्रतिनिधिसँग भेटघाट गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयलाई पूर्वजानकारी गराउनुपर्ने व्यवस्था सुनाइयो । त्यसैगरी, विदेशी पक्षसँगको भेटघाटमा तह मिलाएर सहभागिता जनाउन, निमन्त्रणाको उद्देश्य र प्रकृति बुझ्न, तथा कार्यक्रममा सहभागी अन्य व्यक्तिहरूको स्तरसमेत मूल्यांकन गर्न आग्रह गरिएको छ। विगतमा कूटनीतिक आचारसंहिताको पूर्ण पालना नभएको भन्दै आलोचना हुँदै आएको यियो ।

यसपटक मन्त्रीहरूलाई स्पष्ट निर्देशन दिइएको भनिए पनि आजै कानुनमन्त्री र गृहमन्त्रीसँग स्विटजरल्याण्डकी राजदूतले छुट्टै भेटेकी हुन् । राजदूत ड्यानियल मेउलीले कानुन कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री सोबिता गौतम र गृहमन्त्री सुधन गुरुङसँग भेट गर्दै दुई मुलुकबीच कायम रहेको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सवका कार्यक्रम सम्बन्धमा केन्द्रित रहेको बताइएको छ । जबकी उनै राजदूतले हिजो परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटेकी थिइन् ।
गतसाता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भारतीय राजदूत नवीन श्रीवास्तवले मन्त्रालय पुगेर भेटवार्ता गरेका थिए । नयाँ सरकार बनेपछि कूटनीतिज्ञहरुसँग सामान्यतयाः परराष्ट्रमन्त्रीले मात्रै भेट्ने भनिए पनि सबैभन्दा पहिले मन्त्री वाग्लेले भारतीय कूटनीतिज्ञसँग वार्तालाभ गरेका हुन् ।
सरकारले कूटनीतिक भेटघाटमा नयाँपन ल्याउने दाबी गरिरहँदा लैनचौरस्थित भारतीय राजदूतावासले दूतावासभित्रै आयोजना गरेको सांगीतिक कार्यक्रममा मन्त्री वाग्ले र केही सांसद सहभागी भएको खबर बाहिरिएको छ । भारतीय दूतावासले दिएको जानकारी अनुसार अस्ति साँझ आयोजित बसन्त महोत्सवमा मन्त्री वाग्लेलगायत सांसदहरु सहभागी भएका थिए भन्दै जनआस्थाले समाचार प्रकाशन गरेको छ।