निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गरि मुल्य समायोजन गर्न सरकारसंग निर्माण उद्योग परिषद्को माग

56

काठमाडौँ । नेपाल निर्माण उद्योग परिषद्ले निर्माण सामग्रीमा भएको अनपेक्षित र अत्यधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र धराशायी बनेको भन्दै ‘निर्माण उद्योगमा आपतकाल’ घोषणा गर्न माग गरेको छ ।

परिषद्ले विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धनजन्य सामग्रीमा पटक–पटक भएको मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको जनाएको छ ।

इन्धन मात्र नभई बिटुमिन, सिमेन्ट, डण्डी लगायतका अन्य अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा समेत निरन्तर भइरहेको मूल्यवृद्धि र बजारमा देखिएको अभावले निर्माण व्यवसायीहरू मारमा परेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘इन्धन र निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि तथा बजारमा देखिएको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको छ ।

यसका साथै देशका विभिन्न ठाउँमा क्रसर उद्योगमा देखिएका समस्याले निर्माण उद्योग थप आक्रान्त बनेको छ ।’ साथै निर्माण व्यवसायीहरूले नेपाल राष्ट्र बैंकको मूल्य सूचकाङ्क र बजारको वास्तविक मूल्यबिच ठुलो अन्तर रहेको भन्दै आपत्ति जनाएका छन् ।

बजारमा निर्माण सामग्रीको मूल्य अत्यधिक बढे पनि राष्ट्र बैंकको इन्डेक्समा मूल्य घटेको देखाइने प्रचलनका कारण ठेक्काको मूल्य समायोजन हुन नसकेको परिषद्को दाबी छ ।

यसले गर्दा निर्माण कार्य तीव्र रूपमा हुनुपर्ने समयमै व्यवसायीहरूले ठुलो आर्थिक भार खेप्नुपरेको छ । समस्या समाधानका लागि परिषद्ले नेपाल सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै निम्न मागहरू अघि सारेको छः

666014469_927487473498855_5112667386437911747_n

१) निर्माण उद्योगमा तत्काल ‘आपतकाल’ घोषणा गरी निर्माण व्यवसायीहरूलाई अविलम्ब राहत प्रदान गरियोस् ।

२) हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने देखिएकाले तत्काल ‘मूल्य समायोजनको मार्ग निर्देशिका–२’ जारी गरियोस् ।

३) सबै अवधिका ठेक्काहरूको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीका समस्या तुरुन्त सम्बोधन गरियोस् ।

समाचार वर्गहरू