काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।
ललितपुरमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै निःशुल्क दिँदा त्यसको महत्त्व कम हुने गरेकाले आफूहरूले शुल्क लिन थालेको बताए।
उनले भने, ‘श्रम संस्कृतिको सदस्यता १०० रुपैयाँ तिरेर लिनुपर्छ । फ्रीमा आएको कुराको महत्त्व नहुने रहेछ। जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छ। सास फेर्न पैसा तिर्नु पर्दैन तर सास फेर्न नपाउँदा ३ देखि ४ मिनेटमा हाम्रो मृत्यु हुन्छ, त्यसैले सास महत्त्वपूर्ण छ । मूल्यको पछाडि दगुरेको मान्छे महत्त्वको पछाडि दगुर्नु पर्छ । तपाईँको दाहिने हात काट्नुस्, कसैले ५०० मा पनि किन्दैन, मूल्य त्यति नै हो तर त्यो हात तपाईँसँग भइन्जेल तपाईँ एउटा सफल मान्छे हुन सक्नुहुन्छ, त्यो चाहिँ महत्त्व हो ।’
उनले देश बनाउने अभियान आफ्नो एक्लो नभएको बताए। आफ्नो अभियानमा रचनात्मक र सकारात्मक तरिकाले सबै जनाको सहयोग भइरहेको भन्दै सहभागी भइदिन जेनजी पुस्ताका युवाहरूलाई पनि आह्वान गरे।