काठमाडौं – नियुक्ती भएको २६ दिनमै पदबाट राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङले धनकुटामा करिब २० रोपनी जग्गा किन्दा खरिद मूल्य (थैली) कम राखेको देखिएको छ ।
चैत १३ गते मन्त्री बनेका उनले चैत ११ गते धनकुटाको मुख्य पर्यटकीय क्षेत्र भेडेटार नजिक साँगुरीगढी गाउँपालिका–६ (साविक कार्कीछाप–५) मा कित्ता नम्बर १६७ रहेको १९ रोपनी १५ आना जग्गा किनेका थिए ।
मालपोत कार्यालय धनकुटाका अनुसार गुरुङले उक्त जग्गा जुनु लिम्बूबाट खरिद गरेका हुन् ।
गोरखाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित गुरुङले जग्गा पास गर्दा ६ लाख ९० हजार रुपैयाँको मूल्यांकन गरी सोही बराबरको राजस्व बुझाएको मालपोत कार्यालय धनकुटाका प्रमुख कमलबहादुर थापाले बताए ।
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार गुरुङले जग्गा किनेको ठाउँ सडकले छोएको छैन् । तर उनले जग्गा खरिद गरेको क्षेत्रमा ५ लाख रुपैयाँ प्रति रोपनीमा खरिद बिक्रि हुने गरेको छ । प्रति रोपनी ५ लाखको दरले हिसाब गर्दा उनले खरिद गरेको जग्गाको मूल्य करिब एक करोड हुन्छ ।
निवर्तमान मन्त्री गुरुङले सम्पत्ति विवरणमा उक्त जग्गा खरिदको उल्लेख गरे पनि वास्तविक मूल्य र स्रोत भने सार्वजनिक गरेका छैनन् ।