रविलाई पदबाट हटाउन र बालेनमाथि अनुसन्धान थाल्न ‘द काउन्सिल अफ जेनजी’को माग

87

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट हटाउन जेनजीहरूले माग गरेका छन् ।

सहकारी ठगीसम्बन्धी गम्भीर मुद्दा लागेका व्यक्ति नैतिक र कानुनी रूपले सांसद पदका लागि योग्य नरहेको निष्कर्षसहित द काउन्सिल अफ जेनजी, रुपन्देहीले यस्तो माग गरेको हो ।

काउन्सिलद्धारा आज जारी विज्ञप्तिमा रविलाई विधानको धारा ८९ को मर्मअनुसार नैतिकता, पारदर्शिता र सार्वजनिक उत्तरदायित्वका आधारमा सांसद पदबाट मुक्त गरिनुपर्नेमा जोड दिइएको छ ।

काउन्सिलले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) माथि पनि अनुसन्धान अघि बढाउन माग गरेको छ । जेनजी आन्दोलनका क्रममा फेसबुकमार्फत जनतालाई उत्तेजित पार्ने, उक्साउने र सामाजिक असन्तुलन सिर्जना गर्ने अभिव्यक्तिबारे साहमाथि अनुसन्धान गरी कारबाहीको माग गरिएको छ ।

‘अभिव्यक्ति स्वतन्त्रता मौलिक हक भएतापनि यसले सार्वजनिक शान्ति, सुव्यवस्था र सामाजिक सद्भावमा प्रतिकूद असर पार्ने गतिविधिलाई वैधानिकता प्रदान गर्दैन,’ काउन्सिलले विज्ञप्तिमा थपेको छ, ‘हामी सम्बन्धित निकाय सम्मानीय राष्ट्रपति, प्रधानमन्त्री, संघीय संसद् तथा न्यायिक निकायलाई यस विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै छिटो, निष्पक्ष र संविधानसम्मत निर्णय लिन हार्दिक आग्रह गर्दछौं ।’

समाचार वर्गहरू