कांग्रेस पार्टीलाई एकताबद्ध बनाउने पहलको सुरुवात सभापति गगन थापाले गर्नुपर्छ : देउवा समुह नेता

11

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले राखेको भेला पूर्वसभापति शेरबहादुर देउवा समुहका नेताहरूले पार्टीलाई एकताबद्ध गरेर अघि बढ्ने पहल सभापति गगनकुमार थापाले गर्नु पर्ने बताएका छन । सो भेलामा पूर्वसभापति देउवानिकट निवर्तमान केन्द्रीय सदस्य, प्रदेशका सभापति, जिल्ला सभापति, क्षेत्रीय सभापति, भातृ सङ्गठनका प्रमुखहरू सहभागीमा नेताहरुले सो कुरा बताएको जनाइएको छ ।

बैठकमा सर्वोच्च अदालतले निर्णय मान्ने भनेपछि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भइरहेको नेता रामहरि खतिवडाले बताएका छन्। उनले भने, ‘हामीले सर्वोच्च अदालतको निर्णय मान्छौँ। तर बृहत् एकता गरेर महाधिवेशन महाधिवेशन गर्नुपर्छ। सम्पूर्ण साथीहरूलाई एकै ठाउँमा राखेर छलफल गरिरहेका छौँ। हामी कांग्रेसलाई कमजोर बनाउने होइन, एकताबद्ध बनाउनेमा पहल गर्नुपर्छ।’ उनले पार्टीलाई एकताबद्ध बनाउने पहलको सुरुवात सभापति गगन थापाले नै गर्नुपर्छ भन्ने आशयका कुरा उठेको बताएका छन्।

यसैगरी सो भेलामा कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापासँग भएको भेटको कुराकानीबारे आफ्नो समूहका नेतालाई ब्रिफिङ गरेका छन् । मंगलबार महाराजगञ्जको स्मार्ट होटलमा भएको निवर्तमान सभापति देउवा समूहको भेलामा खड्काले सभापति थापासँगको भेटबारे ब्रिफिङ गरेका हुन् ।

उनले सभापति थापाले पार्टीलाई कसरी एकताबद्ध गरेर लैजानेभन्नेबारे सभापतिले सुझाव मागेको र त्यसबारे आफूले सुझाएका विषयबारे पनि नेताहरूलाई जानकारी गराएको बताइएको छ । ‘आधा कांग्रेस नेतृत्वको साथमा र आधा बाहिर रहेको जस्तो देखिएकाले पार्टी अहिले गुट–गुटमा विभाजित छ,’ सभापतिसँग भएको कुराकानीबारे खड्काले भने, ‘यसलाई सम्पूर्ण रूपमा एकता गर्ने वा विभाजनतर्फ लैजाने भन्ने जिम्मेवारी अब सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको काँधमा छ।

त्यसबारे कसरी अगाडि बढ्ने भन्ने तपाईंहरूको योजना र रणनीतिमा भर पर्छ ।’ खड्काले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी पूर्ण एकता कायम गर्न आफू तयार रहेको बताएको पनि जानकारी गराए । ‘पार्टी विभाजन वा एकताको भविष्य नेतृत्वको हातमा छ । हामी पार्टीलाई एकताबद्ध गराउन तयार छौँ । नेतृत्वले चाहन पर्‍यो,’ खड्काले बैठकमा भने । खड्काले पार्टी एकतालाई देशको राष्ट्रियतासँग जोड्दै वर्तमान समयमा राष्ट्रियता इतिहासमै सबैभन्दा बढी खतरामा रहेको दाबी गरे ।

बलियो र एकीकृत कांग्रेसले मात्र वर्तमान सरकार र अन्य दलहरूसँग उच्च नैतिक मनोबलका साथ वार्ता गरी संविधानको रक्षा र राष्ट्रिय एकता कायम गर्न सक्ने धारणा आफूले सभापतिसँगको भेटमा राखेको खड्काले बताएका छन्। ‘मैले उहाँलाई प्रष्ट भनेको छु— पार्टी एकता टुक्रा–टुक्रामा गरेर अर्थ छैन, यो सम्पूर्ण रूपमा हुनुपर्छ। एकता कसरी गर्ने भन्ने बल अब तपाईंहरूको कोर्टमा छ। तपाईंहरूले एकताको ठोस रोडम्याप र प्रस्ताव तयार पार्नुहोस्, त्यसपछि मात्रै थप छलफल गर्न सकिन्छ।’

जवाफमा सभापति थापाले आफूले उपसभापति विश्वप्रकाश शर्मासँग सल्लाह गरी दुई–तीन दिनभित्र भेट्ने वातावरण बनाउने बताएको जानकारी पनि दिए । खड्काले आफ्नो तर्फबाट एकताका लागि कुनै पूर्वशर्त नराखेको र पहिला अर्को पक्षको स्पष्ट धारणा आओस् भन्ने चाहेको पनि बताए । सभापति थापाले वैशाख ६ गते गोल्फूटारस्थित निवासमा पुगेर खड्कालाई भेटेका थिए ।

समाचार वर्गहरू