तीन दिने नेपाल भ्रमणकाक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौँमा

5

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदै छन् । ११ दिनअघि दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने नेपाल भ्रमण सकेर फर्केपछि गोर नेपाल आउन लागेका हुन् ।

भारतका लागि अमेरिकी राजदूत समेत रहेका उनी नेपाल आएर प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने योजनामा छन् । तर प्रधानमन्त्री शाहले हालसम्म भेटघाट सुनिश्चित गरेका छैन । बालेन सचिवालय स्रोतका अनुसार गोरसँग भेटघाटको कुनै कार्यतालिका छैन ।

यद्यपि भेटघाटका लागि दबाब रहेको बुझिएको छ । राष्ट्रपति ट्रम्पका विशेष दूतका रूपमा रहेका गोरको लक्ष्य प्रधानमन्त्रीसँग भेट्नु नै हो तर भेटघाट अझै सुनिश्चित नभएको बताइको छ । गोरले यसअघि उनी बङ्गलादेश, भुटान, श्रीलंकालगायत देशका भ्रमण गरेर त्यहाँका राष्ट्र प्रमुखसँग भेटेका थिए ।

हिजो मात्र उनले काजिकिस्तानका राष्ट्रपतिसँग भेटेका थिए । नेपालमा प्रधानमन्त्री बालेनसँग भेट सुनिश्चित नभए पनि अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग उनको भेटघाटको निश्चित भएको छ । यो भ्रमण पनि सहायक विदेनमन्त्री कपुर जस्तै लगानी र आर्थिक सहकार्यमा केन्द्रित हुने बताइएको छ ।

यद्यपि कपुरभन्दा गोर उच्च ओहदाका हुन् । हुन त कपुर पनि राष्ट्रपति ट्रम्पको सचिवालयमा बसेर काम गरिसकेका छन् । तर कपुरभन्दा गोरलाई ट्रम्प नजिक तथा शक्तिशाली मानिन्छ । बालेन प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना भन्दा बढी भइसक्यो । हालसम्म एक्लाएक्लै कसैलाई भेटेका छैनन् ।

चैत २५ गते सामूहिक रूपमा राजदूतहरुसँग भेटघाट गरेका थिए । बालेनको सचिवालय स्रोतहरू भन्छन्, विदेशबाट आउने राजदूत वा तल्लो तहका अधिकारीसँग भेट नगर्ने भनेका छन् । उनी राष्ट्र प्रमुख या शीर्ष मन्त्रीलाई मात्र भेट्ने मनस्थिति बनाएका छन् ।

वैशाख २८ गते भारतका विदेश सचिव विक्रम मिस्री पनि नेपाल भ्रमणमा आउँदै छन् । सचिव मिस्री बालेनको भारत भ्रमणको औपचारिक निमन्त्रणा लिएर आउँदै छन् । त्यो निमन्त्रणा प्रधानमन्त्री बालेनलाई भेटेर बुझाउने कि परराष्ट्र मन्त्रालयलाई मार्फत बुझाउने अझै निश्चित भएको छैन ।

समाचार वर्गहरू