नेपाली कांग्रेसमा ३ लाख ७५ हजारले मात्र क्रियाशील सदस्यता अद्यावधिक

7

काठमाडौँ । नेपाली कांग्रेसमा अहिलेसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अद्यावधिक गरेका छन् । महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई ‘डिजिटल्ली अद्यावधिक’ गर्ने समय दिएको छ । ३ लाख ७५ हजारले सदस्यता अद्यावधिक गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।

त्यो सङ्ख्या बढेर साँझसम्म ४ लाख पुग्ने अनुमान समितिको रहेको रसाइलीजे जानकारी दिए । १४ औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ७० हजार बढी थिए । अहिले त्यो घटेर ३ लाख ७५ हजारमा झरेको हो । अघिल्लो महाधिवेशनमा सरकारी कर्मचारी, शिक्षक लगायतका २ लाख जति सदस्य रहेको र अहिले त्यो घटेको सहमहामन्त्री रसाइलीले बताए ।

सरकारले अब सरकारी कर्मचारी र शिक्षकले कुनै पनि दलको सदस्यता लिन नपाउने व्यवस्था गरेपछि त्यति सङ्ख्या घट्ने निश्चित थियो । त्यो बाहेक पनि उल्लेख्य मात्रामा कांग्रेसका क्रियाशील सदस्यले सदस्यता अद्यावधिक नगरेका हुन् । गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद छ । विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ समिति बनाएको छ ।

त्यो समितिले गठन गरेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले १५औँ महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यले पनि ‘डिजिटल्ली अद्यावधिक’ गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको थियो । तर, निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अद्यावधिक नगर्ने अडान लिइरहेको छ ।

विशेष महाधिवेशन गर्नु अगाडि नै ४ लाख ५० हजारले क्रियाशील सदस्यता नवीकरण गरेका थिए । त्यो बेलामा पनि क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य रहेका रसाइलीले त्यो बेलामा ४ लाख ५० हजारले क्रियाशील सदस्यता नवीकरण गरेको अहिले अद्यावधिक गर्ने ३ लाख ७५ हजार रहेको जानकारी दिए ।

समाचार वर्गहरू