काठमाडौं – काठमाडौं महानगरपालिका–३२ स्थित तीनकुने चौर नजिक फुटपाथ छेउमा शुक्रबार साँझ एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ।
प्रहरीका अनुसार अन्दाजी ३० देखि ४० वर्ष उमेरका ती पुरुषको शव साँझ करिब ५ बजे फेला परेको हो। सूचना प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।
प्रहरी वृत्त नयाँबानेश्वर, काठमाडौंका अनुसार मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त नयाँबानेश्वरका एक प्रहरी अधिकारीले भने, “त्यो मान्छे अन्दाजी ३०/४० वर्षको हो। नाम, थर, वतन केही नखुलेको अवस्थामा मृत फेला परेको हो। अहिले सम्म विवरण त्यही छ। पोस्टमार्टमका लागि पठाएको छ।”
प्रहरीले मृतकको पहिचान खुलाउने तथा मृत्युको कारण पत्ता लगाउने गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।