राप्रपा केन्द्रीय कार्यालय रहेको घर खाली गर्न घरधनी राजभण्डारीको ३५ दिने अल्टिमेटम

8

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारीले पार्टी कार्यालय रहेको आफ्नो घर खाली गर्न अध्यक्ष राजेन्द्र लिङदेनलाई ३५ दिने अल्टिमेटम दिएका छन् । अध्यक्ष लिङदेनका नाममा पत्र लेख्दै उनले सो अल्टिमेटम दिएका हुन् । राजभण्डारीको धुम्बाराहीस्थित घरमा राप्रपाको मुख्यालय रहेको छ । उनले हालै महामन्त्री डा. धवलशम्शेर राणासँगै राप्रपा परित्याग गरेका छन् ।

पार्टी छोडेपश्चात अध्यक्ष लिङ्देनमाथि गम्भीर आरोपहरु लगाउँदै पत्र लेखेका हुन् । अध्यक्ष लिङ्देनले कार्यकर्ताको भरोसामाथि घात गरेको, पार्टीमा गुटबन्दी सिर्जना गरेको र आर्थिक अपारदर्शिता देखाएको आरोप उनले लगाएका छन् ।

राजभण्डारीले लिङ्देनको पछिल्लो समयको जीवनशैली र सम्पत्तिमाथि कडा प्रश्न उठाएका छन् । पत्रमा उनले लेखेका छन्, ‘पहाडमा ढिँडो खान नपुग्ने तपाईंको जीवनमा यति छिट्टै राजधानीमा आलिसान भवन कसरी खडा भयो ? इलाममा रिसोर्ट बनाउने आर्थिक स्रोत कहाँबाट जुट्यो ? अनि अमेरिकामा घर किन्ने पैसा कहाँबाट आयो ?’ यतिमात्र नभएर राजभण्डारीले लिङ्देनमाथि गाडी चोरीको आरोप, अर्काको जग्गा हडपेको र ज्यान सम्बन्धी मुद्दामा जेल सजायसमेत भोगेको जस्ता गम्भीर लाञ्छना लगाएका छन् ।

निर्वाचनका बेला समानुपातिक सिट बेचेर मोटो रकम कुम्ल्याएको आरोपसमेत पत्रमा लगाइएको छ । राजभण्डारीले लिङ्देनमा बस्नलायक नैतिकता नरहेको भन्दै आफ्नो घर तुरुन्त खाली गर्न माग गरेका छन् । ‘तपाईंले राप्रपा डुबाउनुभयो, त्यसैले मेरो घरजग्गाबाट किन ननिकाल्ने ? मेरो घर तुरुन्त खाली गरिहाल्नुहोस्,’ पत्रमा भनिएको छ ।

यसका लागि ३५ दिने कानूनी सूचना समेत दिइसकेको उनले जानकारी दिएका छन् । धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालय रहेको ‘शशीकला स्मृति भवन’ राजभण्डारीको निवास हो ।

राजभण्डारीले २०७९ को निर्वाचनका क्रममा लिङ्देन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आफूबाट लगेको ४५ लाख रुपैयाँमध्ये १० लाख मात्र फिर्ता गरेको र बाँकी ३५ लाख रुपैयाँ अहिलेसम्म आलटाल गरी नदिएको बताएका छन् । उनले रकम ‘आमाको रगत खाए सरह’ भन्दै तुरुन्त फिर्ता गर्न माग गरेका छन् ।

पार्टीको हालैको निर्वाचनमा ९७ प्रतिशत उम्मेदवारको जमानत जफत हुनुको मुख्य दोषी अध्यक्ष नै रहेको राजभण्डारीको दाबी छ । आफूलाई खुसी पार्न उपाध्यक्ष पदमा मनोनित गरिए पनि लिङ्देनप्रतिको विश्वास टुटिसकेकाले आफू निष्क्रिय बसेको उनले बताएका छन् ।

समाचार वर्गहरू