अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिनेर दवाव दिएको भन्दै नेपाली कांग्रेसको आपत्ति

10

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र पदाधिकारीहरूलाई नियन्त्रणमा लिएर दबाब दिएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सो आपत्ति जनाएका हुन ।

सांसद केरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र अन्य पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयभित्रै थुनेर पक्राउ पुर्जी जारी गर्न बाध्य पारिएको दाबी गरे । ‘संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालयको कोठाभित्रै थुन्ने र धम्कीका साथ पक्राउ पुर्जी जारी गर्न लगाइएको विषय बाहिर आएको छ,’ केरुङले भने,‘‘यदि यो साँचो हो भने यो लोकतन्त्र र सुशासनको नाममा लज्जास्पद हर्कत हो।’

उनले यस विषयमा सत्य तथ्य पत्ता लगाउन तत्काल ‘संसदीय छानबिन समिति’ गठन गर्न माग गरे । यसैगरी, नेकपाका सांसद रमेश मल्लले संसदमा प्रतिपक्षले खेलेको रचनात्मक भूमिकालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने भन्दै यसमा प्रतिपक्षले उठाएको आवाजको नजरअन्दाज गर्न नमिल्ने बताए ।

साथै, उनले प्रधानमन्त्री कार्यालयमा कोही मानिसलाई बोलाएर बयान लिइएको तथा पक्राउ गरिएको भन्दै प्रधानमन्त्रीको कार्यालय त्यस्तो काम गर्ने ठाउँ नभएको बताए । उनले यस्ता घटनाबाट लोकतन्त्र र संविधानकै चीरहरण हुन सक्नेतर्फ सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । ‘संवैधानिक आयोगका पदाधिकारीलाई बोलाएर जबरजस्ती थुनछेक गरिएको छ भने छानबिन गरियोस् र दोषीमाथि कारबाही गरियोस्’, मल्लको भनाइ छ ।

समाचार वर्गहरू