भरतपुर अस्पतालमा चौबिसै घण्टा डायलेसिस सेवा

62

रासस/चितवन – भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गाैलाका बिरामीको चाप बढेपछि आज आइतबारदेखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलेसिस गर्दा बिरामीले पालो नपाएपछि सेवा विस्तार गरिएको हो ।

सेवा विस्तार गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले पालो कुर्ने बिरामीको संख्या बढेपछि आजदेखि रात्रिकालीन सेवा शुरु गरिएको बताए । सो अवसरमा उनले हाल ६९ जनाले नियमित डायलेसिस गरिरहेको जानकारी दिए । अरू थप ५० जना बिरामीले पालो कुरिरहेकाले रात्रिकालीन सेवा शुरु गरिएको उनले बताए ।

सो अवसरमा अस्पतालको मेडिसिन विभाग प्रमुख डा प्रकाश खतिवडा, डायलेसिस विभाग प्रमुख सुनिता आचार्य लगायतले अस्पतालमा मूत्ररोग विशेषज्ञको व्यवस्था हुन सकेमा बिरामीले थप सेवा पाउनेमा जोड दिए । भरतपुर अस्पतालमा डायलेसिस सेवा निजीको भन्दा उत्कृष्ट भएपछि बिरामीको पहिलो रोजाइ यहाँ हुने गरेको छ । जसका कारण बिरामीको संख्या दिनानुदिन बढ्दै गएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालमा २०७४ साल भदौ ११ गतेबाट निःशुल्क रुपमा डायलेसिस सेवा शुरु गरिएको हो । गत आर्थिक वर्षमा ६ हजार एक सयपटक र चालु आवको ६ महिनामा तीन हजार २३० पटक विभिन्न बिरामीको डायलेसिस गरिएको उनले जानकारी दिए । अस्पतालमा रहेका १२ वटा डायलेसिस उपकरणमध्ये १० वटा सञ्चालनमा रहेका छन् ।

समाचार वर्गहरू