रासस/काठमाडौं – सरकारले बहुप्रतिक्षित निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बारामा प्रस्तावित निजगढ अन्तरराष्ट्रिय विमानस्थल अबको पाँच वर्षभित्र व्यावसायिक सञ्चालनमा आउने बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भौतिक पूर्वाधारको प्रगतिबारे जानकारी दिन आज बुधबार प्रधान कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले निजगढ विमानस्थल सरकारको प्राथमिकतायुक्त आयोजना भएकाले यसलाई गति दिइने उल्लेख गरे ।
निजगढ विमानस्थलको विमानस्थल क्षेत्रको आठ हजार हेक्टर जग्गाको तारबारको काम सकिएको छ भने मुआब्जा वितरणको काम भइरहेको छ । प्राधिकरणका अनुसार एक अर्ब मुआब्जा बापतको रकम खर्च भइसकेको छ । यो आयोजना निर्माणका लागि लगानी बोर्डले स्विटजरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट एजीलाई परियोजनाको विस्तृत प्रस्ताव माग गरिसकेको छ । उक्त कम्पनीको प्रस्तावबमोजिम सरकारले आफ्ना मापदण्ड स्पष्ट गरेपछि विमानस्थलको काम अघि बढ्ने पर्यटन मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा विमानस्थल निर्माणका लागि एक हजार ९०० हेक्टरभित्रका रूख कटानका लागि पर्यटन मन्त्रालयले वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गरिसकेको छ । वन मन्त्रालयले उक्त क्षेत्रमा कति रूख काट्नुपर्ने हो सोको यकिन विवरणसहित पत्राचार गरेपछि विमानस्थल निर्माणको काम अघि बढ्ने प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए ।