(काठमाडौं) – बेलायती राजपरिवारको शाही हैसियत त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई ह्यारी मात्रै भन्न आग्रह गरेका छन् । शाही हैसियत त्यागेपछि सार्वजनिक कार्यक्रममा आम नागरिकको रूपमा सहभागी हुन थालेका ह्यारीले बुधबार आयोजित एक कार्यक्रममा आफूलाई ह्यारी मात्रै भन्न आग्रह गरेका हुन् ।
आफूहरूले नै चाहेर शाही पदवीबाट मुक्त भएकाले अब पनि शाही पदावीबाटै सम्बोधन गर्न उपयुक्त नहुने उनको भनाइ छ । आफ्नी श्रीमती र छोरासँगै आफू सर्वसाधारण नागरिक भएर काम गर्न चाहेकाले सबैले त्यही तरिकाले ग्रहण गर्न र व्यवहार गर्न ह्यारीले आग्रह गरे ।
ह्यारी दम्पत्तिले केही हप्ता अगाडि शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन बिताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थिए । शाही दरबारले पनि चरण चरणका छलफल र प्रयासहरूलाई आधार मानेर उनीहरूको घोषणालाई स्वीकृति दिने निर्णय गरेको थियो ।
शाही दरबारको सो निर्णयसँगै नीहरूले शाही उपाधि अन्त्य हुने सुनिश्चित भए पनि आगामी वसन्त ऋतुदेखि मात्रै सो उपाधि प्रयोग नगर्ने निर्णय कार्यान्वयन हुनेछ । दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम पनि पाउने छैनन् ।
बेलायती महारानी एलिजावेथ द्वितीयाका नाती ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनले केही समयको प्रेम सम्बन्धपछि सन् २०१८ मा विवाह गरेका थिए । ह्यारी हाल ३५ वर्षका छन् भने उनकी श्रीमती मेगन ३८ वर्षकी छिन् । राजकुमार ह्यारी बेलायती राजपरिवारको छैटौँ उत्तराधिकारी थिए । रासस/एएफपी